अन्नपूर्ण दिवसका अवसरमा म्याग्दीको अन्नपूर्णमा सार्वजनिक बिदा

Share:

पोखरा । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको पहिलो सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा अन्नपूर्ण गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालद्वारा सन् १९५० जुन ३ (वि.सं. २००७ साल जेठ २० गते) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरिएको थियो। सो ऐतिहासिक दिनको स्मरणमा गाउँपालिकाले आगामी जेठ २० गते, मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गएको २०८२ साल बैशाख २९ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकबाट उक्त निर्णय गरिएको हो। निर्णयअनुसार अन्नपूर्ण गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ। यस सम्बन्धी सूचना जेठ १६ गते राजपत्रमा प्रकाशित गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार, “अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रूपमा मनाउन बिदा दिने निर्णय गरिएको हो।”

७५ औं वार्षिकोत्सवको अवसरमा विशेष समारोहको आयोजना गरिनेछ, जसमा स्व. मौरिस हर्जोगका छोरा तथा नातिको समेत उपस्थित रहने कार्यक्रम तय गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: