प्लास्टिक प्रदूषण विरुद्ध पोखरा लर्नर्स एकेडेमीको अभियान

Share:

पोखरा। सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लर्नर्स एकेडेमीले प्लास्टिक प्रदूषण विरुद्ध सात दिने सफाइ अभियान सञ्चालन गरेको छ। गत जेठ १८ देखि २३ गतेसम्मको वातावरण सप्ताहको अवसरमा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूले पोखरा-६ स्थित लेकसाइडको केदारेश्वर मन्दिर परिसरमा सरसफाइ गर्दै वातावरण संरक्षणको सन्देश दिएका छन्।

विद्यालयका प्राचार्य विधान गौतमका अनुसार, यो अभियान विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको हो। वातावरण सप्ताहलाई विशेष बनाउँदै विद्यालयले प्लास्टिक प्रदूषण विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित विविध कार्यक्रमहरू सञ्चालन गरेको छ।

विद्यार्थीहरूले ‘प्लास्टिक प्रदूषण विरुद्ध एकजुट होऔं’ भन्ने नारालाई आत्मसात गर्दै मन्दिर परिसरमा संकलित प्लास्टिक र अन्य फोहोर व्यवस्थापन गरेर वातावरण संरक्षणमा आफ्नो योगदान दिएका छन्।

एक सहभागी विद्यार्थीले भने, “हामीले महसुस गरेका छौं कि प्लास्टिकले हाम्रो ऐतिहासिक मन्दिर क्षेत्र र प्राकृतिक सौन्दर्यलाई बिगारिरहेको छ। त्यसैले हामीले सफाइमार्फत प्लास्टिक प्रदूषण विरुद्ध आवाज उठाएका हौं।”

विद्यालयका माध्यमिक तहका संयोजक कृष्णप्रसाद लम्सालले विद्यार्थीहरूमा वातावरणीय चेतना जागृत गराउने उद्देश्यले अभियान चलाइएको उल्लेख गर्दै विद्यार्थीहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गरे। उनका अनुसार प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र पुनःप्रशोधन गर्ने अभ्यासलाई प्रोत्साहित गर्न विद्यालय प्रतिबद्ध छ।

वातावरण सप्ताह अन्तर्गत विद्यार्थीहरूले पोस्टर बनाउने, निबन्ध लेख्ने, वादविवाद प्रतियोगिता जस्ता कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाएका थिए। अभियानको अन्त्यमा सरसफाइमा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको शिक्षक आदर्श घिमिरेले जानकारी दिए। साथै, विद्यालयले यस्ता रचनात्मक र सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: