एक्सपर्ट एजुकेसन अन्तरविद्यालय छात्र टी-२० क्रिकेट: अमरसिंह मावि र रत्न ज्योति विजयी

Share:

पोखरा । पोखरा पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तरविद्यालय छात्र टी-२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत मंगलबार भएका खेलमा अमरसिंह माध्यमिक विद्यालय र रत्न ज्योति सेकन्डरी स्कूल विजयी भएका छन्। प्रतियोगिता पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा भइरहेको छ। मंगलबारको पहिलो खेलमा अमरसिंह माविले न्यूलाईट सेकेण्डरी स्कूललाई ११८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। न्यूलाईटले टस जितेर फिल्डिङ रोजेपछि अमरसिंहले पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको विशाल योगफल खडा गर्‍यो।

अमरसिंहका लागि आश्रय रिमालले २७ बलमा ३९ रन बनाए भने सत्कार चालिसेले ३० बलमा ३८ रन बनाउन सफल भए । यस्तै, सुलभ सुवेदीले १७ बलमा २६ रन बनाए । न्यूलाईटका एमडी आसिफ र प्रतीक भुषालले समान २र२ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको न्यूलाईट निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनमै समेटियो। एमडी आसिफले २७ बलमा २६ रन बनाए भने कात्तिक पौडेलले २९ बलमा १० रन बनाएका थिए। अमरसिंहका बलर स्मिथ कँडेलले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिए। सुलभ सुवेदीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सुलभ सुवेदीलाई प्लेयर अफ द म्याच घोषित गरियो ।

रोमाञ्चक खेलमा रत्न ज्योतिको जित

यसैगरी मंगलबारकै दोस्रो खेलमा रत्न ज्योति सेकन्डरी स्कूलले एसओएस हर्मन माइनर सेकन्डरी स्कूललाई २ विकेटले हराउँदै पहिलो जित हात पार्‍यो। टस जितेर फिल्डिङ रोजेको रत्न ज्योतिविरुद्ध एसओएसले २० ओभरमा ४ विकेट गुमाएर १२६ रनको मध्यम योगफल तयार गर्‍यो। एसओएसका लागि विराज सापकोटाले ५५ बलमा ५६ रन तथा रसेल सुवेदीले ४५ बलमा १९ रन जोड्न सफल भए ।

रत्न ज्योतिका अभिषेक पौडेलले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । यस्तै, सुशान्त पोखरेलले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । जसमा १२७ रनको लक्ष्य पछ्याएको रत्न ज्योतिले १५.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि अरुण घिमिरेले ३० बलमा २६ रन तथा प्रतीक सुवेदीले ८ बलमा १९ रन बनाए । एसओएसका बलर निकोल्सन पराजुलीले २ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी अनन्त आचार्यले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए भने अरुण घिमिरेलाई प्लेयर अफ द म्याच घोषित गरियो।

आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनकाअनुसार प्रतियोगिता अन्तर्गत बुधबार प्रतिभा मावि र जुनियर सिटिजन एकेडेमी, तथा एसओएस र डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। यसको कडा हेडलाइन

कमेन्ट गर्नुहोस्
Share: