
पोखरा। ७५ वर्षअघि फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लाशनलले अन्नपूर्ण प्रथमको सफल आरोहण गर्दै विश्वकै पहिलो ८ सय मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमान राखेका थिए। सन् १९५० जुन ३ मा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने उत्तर आधार शिविर (नर्थ बेस क्याम्प) हुँदै ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहणसँगै नेपालको पर्वतीय पर्यटनको ढोका खुलेको थियो।
तर, ऐतिहासिक महत्व बोकेको यो मार्ग अझै पनि प्रचार-प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ। यस क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्न नेपाल पर्यटन बोर्डको नेतृत्व र टान गण्डकीको सहकार्यमा ५ दिने पदयात्रा तथा प्रवर्द्धनात्मक कार्यक्रम (जेठ १७-२१) सम्पन्न गरिएको छ।
अन्नपूर्ण डे मनाउँदै ‘हिरक महोत्सव’
अन्नपूर्ण आरोहणको ७५ औं वर्षको स्मृतिमा ‘हिरक महोत्सव’ मनाउने क्रममा हर्जोगका छोरा म्याथियस इम्यानुएल म्याक्सिमिलेन र नाति सिमोन ज्याक्युस नेपाल आएका थिए। फ्रान्सेली सांगीतिक टोलीसहित उनीहरू पोखराबाट नार्च्याब, गुफाफाट, भुस्केटमेल हुँदै अन्नपूर्ण नर्थ बेस क्याम्प ४ सय १९ मिटर पुगेका थिए।
अन्नपूर्ण डेको अवसरमा पहिलोपटक नर्थ बेस क्याम्पमा केक काटेर उत्सव मनाइएको थियो। सो अवसरमा मौरिस हर्जोगले प्रयोग गरेको ऐतिहासिक ‘आइस एक्स’ हर्जोग परिवारले नेपाल पर्यटन बोर्डलाई हस्तान्तरण गरे। उक्त उपकरण स्विजरल्याण्डबाट ल्याइएको हो।
ऐतिहासिक शालिक अनावरण
कार्यक्रममा ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजा र नेपालका लागि फ्रान्सेली राजदूतले मौरिस हर्जोग र लुइस लाशनलको शालिक अनावरण गरे। सोही अवसरमा पहिलो नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठले हर्जोगले प्रयोग गरेको आइस एक्स हेर्न पाएकोमा खुशी व्यक्त गरिन्।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अन्नपूर्ण हिमालको उत्तर भागलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यो पदयात्रा आयोजना गरिएको जानकारी दिए। फ्रान्सेली टोलीको सहभागिता र संचारमाध्यममार्फत प्रचार गरेर यस क्षेत्रको सम्भावना उजागर गर्ने प्रयास गरिएको उनले बताए।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ‘अन्नपूर्ण डे’ नेपालका लागि ऐतिहासिक दिन भएको बताए। उनले मौरिस हर्जोगको चर्चित पुस्तक द अन्नपूर्ण को उल्लेख गर्दै नेपालको पर्वतीय पर्यटनमा हर्जोगले पुर्याएको योगदानलाई स्मरण गरे।
हर्जोगले प्रयोग गरेको पदमार्ग अहिले पनि ओझेलमा रहेको भन्दै त्यसको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।



