पोखरा विश्वविद्यालयमा डीन र परीक्षा नियन्त्रक नियुक्त

Share:

पोखरा। पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले रिक्त पदहरूमा विभिन्न संकायका डीन र परीक्षा नियन्त्रकको नियुक्ति गरेको छ। विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) अनुसार चारजना पदाधिकारीलाई चार वर्षका लागि नियुक्त गरिएको हो।

स्वास्थ्य विज्ञान संकायको डीनमा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारी नियुक्त भएका छन्। त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डीनमा स्कूल अफ इन्जिनियरिङका सह-प्रा. इ. बुद्धिराज जोशी र मानविकी तथा सामाजिक शास्त्र संकायको डीनमा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका उप–प्रा.डा. सुरेन्द्र तिवारी नियुक्त भएका छन्।

यस्तै, परीक्षा नियन्त्रकमा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप-प्रा. राजु पाण्डेयलाई विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम १५ (३) बमोजिम चार वर्षका लागि नियुक्त गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूलाई बुधबार उपकुलपति प्रा.डा. बेदराज के.सी.ले पोखरा विश्वविद्यालयको उपकुलपति कार्यालयमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

कमेन्ट गर्नुहोस्
Share: