
पोखरा। पोखरा महानगरपालिका-३३ स्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा अभिभावक र शिक्षकबीच शैक्षिक विषयमा गहिरो अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले ‘अभिभावकत्व र शिक्षाको प्रभाव’ विषयमा सहजीकरण गर्दै, बालबालिकाको अध्ययन सुधारमा अभिभावकको सक्रिय भूमिकाको खाँचो औंल्याए।
“विद्यार्थीको पठनपाठन राम्रो बनाउन अभिभावकले पनि केही त्याग गर्नुपर्छ,” भन्दै उनले विद्यालय–अभिभावक–विद्यार्थीबीचको त्रिपक्षीय सहकार्य आवश्यक रहेको उल्लेख गरे।
प्रधानाध्यापक जोशीले विद्यालयले आगामी शैक्षिक सत्रका लागि बनाएका शैक्षिक योजनाहरूको जानकारीसमेत अभिभावकहरूलाई दिएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यालयको व्यवस्थापन पक्षलाई बलियो बनाउन अभिभावकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले विद्यालयको हरेक पहलमा अभिभावकको सुझावलाई सदैव स्वागत गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको स्वागत सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरले गरेकी थिइन्। कार्यक्रममा अभिभावकले उठाएका जिज्ञासाहरूको उत्तर आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, व्यवस्थापन समितिकी शिक्षक प्रतिनिधि शान्तादेवी घिमिरे र शिक्षक अभिभावक संघकी प्रतिनिधि शान्ति केसीले दिएका थिए।
