प्रतिभा मावि र रत्न ज्योति अन्तरविद्यालय टी-२० क्रिकेटको सेमिफाइनलमा

Share:

पोखरा । पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी-२० क्रिकेट च्याम्पियनसिप मा प्रतिभा माध्यमिक विद्यालय र रत्न ज्योति सेकेण्डरी स्कुल सेमिफाइनलमा स्थान बनाएका छन्। प्रतियोगिता पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको छ।

समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा प्रतिभा माविले जुनियर सिटिजन एकेडेमीलाई ९ विकेटले पराजित गर्दै समूह विजेता बनेको हो। टस जितेर बलिङ रोजेको प्रतिभाले जुनियर सिटिजनलाई १९ ओभरमा ६ विकेटको क्षतिमा १४३ रनमै सीमित राख्यो। जुनियर सिटिजनका सौरभ शर्माले ४३ रन र दीपेन सुवेदीले ३८ रनको योगदान दिए। प्रतिभाका दिक्षान्त अर्यालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए।

१४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रतिभाले ११.३ ओभरमै मात्र १ विकेट गुमाएर लक्ष्य सजिलै भेट्टायो। सफल श्रेष्ठले ९१ रनको विस्फोटक पारी खेले भने साबुद्दिन अन्सारीले १९ रन जोडे। उत्कृष्ट प्रदर्शन गरेका सफल श्रेष्ठ ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

त्यसैगरी, समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा एसओएस हर्मनमाईनरले डायमण्ड एकेडेमीलाई ३ रनले हरायो। एसओएसले पहिलो ब्याटिङ गर्दै १९.१ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो। जवाफमा डायमण्डले २० ओभरमा ८ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। एसओएसका बिराज सापकोटाले २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे र ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

समूह ‘बी’ मा रत्न ज्योति, एसओएस र डायमण्डले समान १–१ खेल जिते पनि रनरेटको आधारमा रत्न ज्योति सेमिफाइनलमा प्रवेश गर्न सफल भयो। रत्न ज्योतिको रनरेट +०.८५५ रहेको अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए।

बुधबारको खेलमा प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस का ब्राञ्च म्यानेजर सलिम दिवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतम उपस्थित थिए। उनीहरूले खेलाडीलाई हौसला प्रदान गर्नुका साथै मैदान पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगिता अन्तर्गत बिहीबार न्यूलाइट सेकेण्डरी र सिर्जना मावि तथा वाराही मावि र त्रिवेणी पब्लिक स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: