लक्ष्मी सनराइज बैंकद्वारा वृक्षारोपण तथा डस्टविन हस्तान्तरण

Share:

पोखरा। लक्ष्मी सनराइज बैंक पोखराले विश्व वातावरण दिवसको अवसरमा बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको चण्डिका परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा विभिन्न प्रजातिका १५० वटा फूल तथा विरुवा रोपिएको विद्यालयका अपरेसन म्यानेजर नवीन अधिकारीले जानकारी  दिए । विद्यालयलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकको बगर शाखा प्रमुख तथा कार्यक्रम संयोजक विकास आचार्यले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख उज्वल वैद्यले वातावरण संरक्षण विना मानव विकास सम्भव नहुने बताउँदै यस्ता गतिविधिले सामाजिक उत्तरदायित्वको अभ्यासलाई बल पुर्‍याउने धारणा राखे ।

विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वातावरणीय समस्यालाई समाधान गर्न वृक्षारोपण एक प्रभावकारी उपाय भएको उल्लेख गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, सदस्यहरू महेन्द्र खड्का, मेहरमान नेपाली, विमला अधिकारी, शिक्षक महेन्द्र प्रसाद पौडेल तथा बैंकका विभिन्न शाखा र क्षेत्रीय कार्यालयका प्रमुखहरू—राजु भण्डारी, सुनिता राणा, देवराज पोखरेल, प्रवेश घिमिरे, संजय भण्डारी, सुर्य रानाभाट, सुमित्रा पौडेल, अविन गुरुङ लगायतको उपस्थिति रहेको थियो।

सोही अवसरमा बैंकले विद्यालयलाई २ थान ह्वील फाइबर डस्टविन हस्तान्तरण गरेको छ। उक्त डस्टविन बैंकका प्रदेश प्रमुख उज्वल वैद्यले प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापालाई हस्तान्तरण गरेका थिए ।

यसअघि पनि बैंकका कर्मचारीहरूद्वारा पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा वृक्षारोपण गरिएको थियो। बैंकले प्रत्येक वर्ष वातावरण संरक्षणमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: