पर्वतीय संग्रहालयमा मौरिस हर्जोगको आइस एक्स र सालिक अनावरण

Share:

पोखरा । पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नयाँ आकर्षण थपिएको छ। आजदेखि संग्रहालयमा ७० वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गरेका मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) प्रदर्शनमा राखिएको छ। यो आइस एक्स उनका छोरा माथियस हर्जाेगले बिहीबार एक समारोहका बीच संग्रहालयलाई हस्तान्तरण गरेका हुन्।

स्विट्जरल्यान्डको ओलम्पिक म्युजियमबाट ल्याइएको यो ऐतिहासिक आइस एक्स एक वर्षसम्म संग्रहालयमा प्रदर्शन गरिनेछ। झ्यालबाट अन्नपूर्ण हिमाल देखिने संग्रहालय आफैंमा यो वस्तुको लागि उपयुक्त स्थान भएको माथियस बताउँछन्।

अन्नपूर्ण प्रथम आरोहणको हिरक जयन्तीका अवसरमा नेपाल आएका माथियस हर्जाेग र संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मौरिस हर्जाेगको चर्चित पुस्तक ‘अन्नपूर्ण’ को नेपाली अनुवादको आवरण समेत सार्वजनिक गरे।

यसै अवसरमा संग्रहालय परिसरमा मौरिस हर्जाेग, आङथार्के शेर्पा र वालिसङ सोनाम शेर्पाको शालिक अनावरण गरियो। आङथार्के अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली हुन् भने वालिसङ सोनाम मौरिस हर्जाेगको आरोहण टोलीमा शेर्पा समूहका प्रमुख थिए।

समारोहमा मौरिस हर्जाेगको अन्नपूर्ण आरोहण समेटिएको अडियो, भिडियो र फोटोग्राफको प्रदर्शनी समेत सुरू गरिएको छ। ती सामग्रीहरू अब स्थायी रूपमा संग्रहालयमा राखिने र सर्वसाधारणको लागि खुला गरिने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्।

‘अन्नपूर्ण’ नामक पुस्तक, जुन हर्जाेगले आफ्ना अनुभव समेटेर लेखेका हुन्, हालसम्म २० भाषामा अनुवाद भइसकेको छ र एक करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ।

संघीय मन्त्री पाण्डेले कार्यक्रममा नेपाल वेद, बुद्ध र हिमालको देशका रूपमा विश्वभर चिनिएको बताउँदै जलवायु परिवर्तनको गम्भीर असरबारे चिन्ता व्यक्त गरे। “माछापुच्छ्रे अहिले कालापत्थर जस्तो देखिन थालेको छ,” उनले भने, “हिमालको असर सिंगो पृथ्वीले भोग्नुपर्नेछ।”

उनले संग्रहालय परिसरमा बोटानिकल गार्डेन निर्माणको लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले हिमाल आरोहण प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने जानकारी गराउँदै आगामी आर्थिक वर्षदेखि बोटानिकल गार्डेन निर्माण थालिने घोषणा गरे।

कार्यक्रममा नेपालका लागि फ्रान्सकी राजदूत भिर्गिनी कोर्टेभल, नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पाहारी, पर्वतारोही पवित्रा सेष्ठ, १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गरिसकेका मिग्मा जि शेर्पा लगायतले मन्तव्य राखेका थिए।

वर्षेनी झण्डै सय देशका लाखौँ पर्यटकले अवलोकन गर्ने यस संग्रहालयलाई अब डिजिटल रूप दिनको लागि जापानी संस्थान जाइकाको सहयोगमा डिजिटाइजेसन प्रक्रिया अघि बढाइएको छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमाशेर्पाले मौरिस हर्जाेग वाल निर्माण गरी प्रत्येक वर्ष जुन ३ मा पर्वतारोहण प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरे।

कार्यक्रमकै अवसरमा विश्व वातावरण दिवसको स्मरणमा संग्रहालय परिसरमा वृक्षारोपणसमेत गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: