प्रगति स्कुलमा साँस्कृतिक कार्यक्रम सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिकाका वडा नं-१६, बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको कक्षा ८ र ९ का विद्यार्थीले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता र नाटक जस्ता विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

त्यस अवसरमा उनीहरूले सामाजिक विषयवस्तुमा आधरित ‘फर्केर आऊ घर’ शीर्षकको नाटक समेत प्रस्तुत गरेका थिए। उक्त नाटक मार्फत विद्यार्थीहरूले देशमै कृषि मार्फत स्वरोजगारी सिर्जना गर्न सकिने, वैदेशिक रोजगारी मात्रै आम्दानीको एकमात्र विकल्प नभएको भन्ने सन्देश दिएका थिए।

यसअघि कार्यक्रमको शुभारम्भ गर्दै पूर्वशिक्षक तथा अभिभावक बलराम आचार्यले विद्यार्थीहरूमा लुकेको प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले अभिभावक र विद्यार्थीबीचको सम्बन्ध मित्रवत् हुनुपर्नेमा जोड दिँदै राम्रो सम्बन्धले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए।

विद्यालयले विद्यार्थीको शैक्षिक तथा मानसिक विकासका लागि विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: