प्रतिभा मावि र सृजना मावि उपाधिका लागि भिड्ने

Share:

पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टी-२० क्रिकेट प्रतियोगिता को उपाधिका लागि प्रतिभा मावि र सृजना मावि फाइनलमा भिड्ने भएका छन्। शनिबार लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा सम्पन्न सेमीफाइनल खेलहरूमा उनीहरूले आ-आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। प्रतियोगिताको फाइनल आइतबार हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिए।

पहिलो सेमीफाइनल: प्रतिभा माविको एकतर्फी जित

पहिलो सेमीफाइनलमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको रत्नज्योतिले ९ ओभरमा सबै विकेट गुमाउँदै २६ रन मात्र बनायो। प्रतिभाका सरोज पौडेलले ४ विकेट तथा सहबुद्दिन अन्सारीले २ विकेट लिए। सानो लक्ष्य पछ्याएको प्रतिभाले केवल १.५ ओभरमै लक्ष्य भेट्टायो। सफल श्रेष्ठले १५ रन बनाए। सरोज पौडेल ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

दोस्रो सेमीफाइनल: सृजनाको दबदबा

दोस्रो सेमीफाइनलमा सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। पहिले ब्याटिङ गर्दै सृजनाले १९.४ ओभरमा १२० रन बनायो, जसमा अभय विकको ५७ रन मुख्य योगदान थियो। जवाफमा मदरल्याण्ड ७.३ ओभरमै ३७ रनमा अलआउट भयो। सृजनाका सोनु यादवले ह्याट्रिकसहित ६ विकेट र किरण पौडेलले ४ विकेट लिए। सोनु यादव ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

कमेन्ट गर्नुहोस्
Share: