
पोखरा । पोखरामा भएको प्रथम प्राइम ५ ए साइड भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि गौरी घाटले जितेको छ । पोखरा १३ स्थित खेलकुन्जमा डाक्टर दिवसको प्रस्तुतिमा भएको ३५ वर्षमाथिको प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै लेकसाइडको गौरी घाटले उपाधिसहित ७७ हजार सात सय ७७ रुपैयाँ हात पारेको छ । यस्तै एलजीले ४४ हजार चार सय ४४ रुपैयाँ प्राप्त गर्यो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यअघि खेलको तेस्रो मिनेटमा नै लेकसाईड गौरी घाटका लागि किरण गुरुङले अग्रता दिलाएका थिए । राजेश खांडको पासमा किरणले गोल गरे ।
पहिलो हाफमा १-० ले पछि परेको एलजीले दोस्रो हाफमा बराबरी गोल फर्कायो । दोस्रो हाफको १९ औ मिनेटमा एलजीका मनिष थापाले गोल गरे । दुई दिनसम्म चलेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लेकसाइडका गम्भिर परियार घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक लेकसाइडकै विशाल नेपाली घोषित भए भने सर्वाधिक गोलकर्ता एलजीका मनिष थापा घोषित भए ।
उनीहरुले समान तीन/तीन हजार रुपैयाँको साथमा ट्रफी हात पारे । प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सफल भएको र आगामी दिनमा समेत निरन्तरता दिने हौसला मिलेको प्रतियोगिता संयोजक अनुप रानाले बताए ।
