
पोखरा। कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठ नागरिकलाई बागलुबकालीका र पञ्चकोटको तीर्थयात्रामा पठाएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार वडाबाट छनोट गरिएका ७० जना जेष्ठ नागरिक तीर्थयात्रामा सहभागी भएका हुन्।
दुईवटा बसमार्फत आयोजित एकदिने तीर्थयात्रामा जानुअघि वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष राधिका शाही योगीले जेष्ठ नागरिकलाई खादा ओढाएर बिदाइ गरे। उनले जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै उनहरूको ज्ञान, सिप, क्षमताको सदुपयोग गर्नु आवश्यक रहेको बताए।
साथै, उनले प्रत्येक परिवारले अग्रजप्रति श्रद्धा, आदर र सद्भावसहितको व्यवहार गर्नुपर्नेमा जोड दिए। वडाध्यक्ष शाहीका अनुसार स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखिएमा सम्बन्धित व्यक्तिका सन्तान वा हकवालाको आम्दानीबाट केही प्रतिशत कटौती गरी पीडितको खातामा जम्मा गर्ने संवैधानिक नीति रहेको पनि जानकारी दिए।
यात्रामा वडासदस्यहरू विक्रम गुरुङ, विष्णुमाया थापा, तारासेवा थापा, सूचना अधिकारी रुद्र थापा मगर र प्राविधिक हरिहर खड्काले सहभागी जेष्ठ नागरिकलाई आवश्यक सेवा प्रदान गरेका थिए। तीर्थयात्री टोली आजै पोखरा फर्किने कार्यक्रम रहेको छ।
वडा कार्यालयले जेष्ठ नागरिकका क्षेत्रमा निरन्तर रूपमा महत्वपूर्ण कार्य गर्दै आएको छ। यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीको तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै, वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ।

