
पोखरा। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरा महानगरपालिका वडा नं. १६ स्थित जोगिमनीमा रहेको अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।शिविरका संयोजक विक्रम बस्नेतका अनुसार कार्यक्रममा तीनसयभन्दा बढी स्थानीयवासीले स्वास्थ्य परीक्षण गराएका थिए। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त शिविरमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरूको टोली परिचालन गरिएको इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए।
शिविरमा स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए। पोखरा महानगरपालिका वडा नं. १६ को सहकार्यमा सञ्चालन गरिएको शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग रहनुका साथै नमुना आमा समूह र नमुना क्लब पोखरा-१६ को सहकार्य पनि रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्व बहन गर्दै इक्यानका विभिन्न शाखाहरूले यस्ता कार्यक्रम गर्दै आएको बताए। वडाअध्यक्ष अमृत शर्मा तिमिल्सिनाले स्थानीयवासीले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताए।
इक्यानले विगतदेखि नै रक्तदान कार्यक्रम, विद्यार्थीका लागि छात्रवृत्ति वितरणजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष भुवनबहादुर क्षेत्री, नमुना क्लबका अध्यक्ष मिनबहादुर गुरुङ, र मेडिप्लस हस्पिटलका प्रबन्धक सुरेशराज आचार्यले पनि मन्तव्य व्यक्त गरेका थिए।
