
पोखरा। आदर्श समाज सामाजिक संस्था, पोखरा महानगरपालिका-१२ पुरानो धाराले आयोजना गरेको १७औँ खुला रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन गरिएको छ। कार्यक्रमको सुरुवातमा संस्थाका पूर्वअध्यक्ष शिवप्रसाद कोइरालालाई पहिलो रक्तदाता रूपमा ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले धन्यवाद ज्ञापन गरे।
उनले पुरानो धारामा क्रियाशील संस्थाले वडा क्षेत्रमा गर्दै आएका सामाजिक कार्यहरू सराहनीय रहेको उल्लेख गर्दै वडाको समग्र विकासका लागि सबै समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य शान्ति कोइराला, पुरानो धारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रकाश कोइराला, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू शम्भुराज बास्तोला, शिवप्रसाद कोइराला, कृष्णप्रसाद कोइराला, बसन्तराज कोइराला, शीतलादेवी टोल विकास संस्थाकी अध्यक्ष शुशिला श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।
संस्थाकी अध्यक्ष इन्दिरा भण्डारी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुमित्रा कोइरालाले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रम संयोजक अमृत शर्माले धन्यवाद ज्ञापन गरेका थिए भने, सचिव शान्ता बास्तोलाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
