महिला समन्वय उपसमितिलाई हिमालय क्लबबाट ५० हजार रुपैयाँ हस्तान्तरण

Share:

पोखरा। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले महिला सदस्य समन्वय उपसमितिलाई नगद सहयोग हस्तान्तरण गरेको छ। क्लबले महिलासम्बन्धी कार्ययोजना निर्माण तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि उपसमितिलाई नगद ५० हजार रुपैयाँ प्रदान गरेको हो।

उक्त रकम क्लबका सल्लाहकार तथा वडा सदस्य राजकुमारी बानियाँले उपसमितिकी संयोजक ईन्दु भट्टराईलाई औपचारिक रूपमा हस्तान्तरण गरिन्।

कार्यक्रममा बोल्दै वडा सदस्य बानियाँले क्लबले क्षेत्रीय समन्वयात्मक भूमिकामा अग्रणी भूमिका खेल्दै आएको उल्लेख गरिन्। उनले योजनाबद्ध र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन्।

क्लबका अध्यक्ष मोहन थापा, पूर्व अध्यक्ष सुशील बस्नेत, सूचना अधिकारी शिवराज देवकोटा, र सचिव तुलबहादुर बस्नेतलगायतले क्लबद्वारा सञ्चालन हुने सबै तालिम तथा कार्यक्रममा महिलालाई उच्च प्राथमिकतामा राखिने स्पष्ट पारे।

महिला समन्वय उपसमितिले पहिलो कार्यक्रमका रूपमा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी पनि दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: