
पोखरा । नेपाली शिक्षा क्षेत्रको परम्परागत ढाँचालाई तोड्दै हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले छोटो समयमै गुणस्तरीय र संख्यात्मक उपलब्धि हासिल गरेका छन्। कृषि, उत्पादन, विक्रि तथा नवप्रवर्तनमा आधारित व्यवहारिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका यी संस्थाहरूले अब शिक्षा प्रणालीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहार, प्रतिस्पर्धा र मौलिकताको समन्वयमा पुनःपरिभाषित गरिरहेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रमहरूमा लगातार दुईपटक उत्कृष्ट ठहरिएको हिमाल कलेजले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षामा समेत कीर्तिमानी सफलता हासिल गर्दै शैक्षिक उत्कृष्टताको नयाँ उचाइ छोएको छ।
हालै यी दुई संस्थाको संयुक्त प्रयासमा विद्यालय तहको शैक्षिक कार्यक्रम पनि सञ्चालनमा आएको छ, जसमा विद्यार्थीहरू सिर्जनात्मक सोच, व्यवसायिक अभ्यास र नवप्रवर्तनमा आधारित परियोजनामा प्रत्यक्ष संलग्न छन्। “पढाइ केवल किताबी ज्ञान होइन, बाहिरी संसार बुझ्ने खिड़की हो” भन्ने मूल मन्त्रसहित उनीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानको सन्तुलनमा शिक्षण दिइँदैछ।
कलेजका अध्यक्ष चेतनाथ भण्डारी स्पष्ट पार्छन्, “अबको शिक्षा डिग्री वितरणको साधन मात्र होइन, संस्कार, सीप र सिर्जनशीलता विकासको आधार बन्नुपर्छ। हाम्रो लक्ष्य आत्मनिर्भर पुस्ता निर्माण हो।”
क्याम्पस प्रमुख बिकल पौडेल भन्छन्, “शिक्षा व्यवहारसँग गाँसिनुपर्छ। पुस्तकमात्र पढाउने होइन, जीवन बुझ्ने शिक्षा आवश्यक छ।” स्कूल निर्देशक कृष्ण गुरुङको धारणा छ, “अनुकरणले होइन, नवप्रवर्तनले समाज अघि बढ्छ। हामी नेपालीपनका मूल्यहरूसँगै विश्वस्तरीय प्रतिस्पर्धाका लागि विद्यार्थी तयार पार्दैछौं।”
स्कूल इन्चार्ज अलीना पराजुली थप्छिन्, “आजको शिक्षा प्रणालीले बालबालिकामा कल्पनाशक्ति, विश्लेषणात्मक सोच र समस्या समाधान क्षमताको विकास गर्नुपर्छ, हामी त्यसैमा केन्द्रित छौं।”निवर्तमान क्याम्पस प्रमुख जनक पौडेलका अनुसार, “शिक्षामा यस्तो बहुआयामिक र प्रयोगात्मक पहल दुर्लभ छ। हिमाल र डाइनामिकको संयुक्त प्रयासले भविष्यका नेतृत्वकर्ता उत्पादन गर्नेछ।”
यही सिलसिलामा, आउँदो असारको पहिलो साता ‘युवा र व्यवसाय’ शीर्षकमा विशेष कार्यक्रम आयोजना हुँदैछ, जहाँ विद्यार्थीहरूले आफ्नै व्यावसायिक विचार र आविष्कार प्रस्तुत गर्नेछन्।बदलिँदो विश्व, प्रविधिको तीव्र विकास र मौलिक संस्कृतिको संरक्षणको सन्तुलन खोज्दै अघि बढेको हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीको यो साझा अभियान देशभरका शिक्षाप्रदायका लागि प्रेरणादायी उदाहरण बन्न सक्छ।




