स्मार्ट कृषि र डस्टबिनमा सफलता: पोखरा २६ को डिजिटल तालिम समापन

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं. २६ द्वारा आयोजित डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम बिहीबार सम्पन्न भएको छ। समापन कार्यक्रममा प्रमुख अतिथि एवं अनुसन्धानकर्ता डा. सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्दै प्रविधिमा अब्बल जनशक्ति उत्पादन गर्न यस्ता तालिम आवश्यक रहेको बताए।

पछिल्लो प्रविधिमा अपडेट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले डिजिटल सीप भएकाहरू बेरोजगार नरहने पनि स्पष्ट पारे। डा. कोइरालाले अनुसन्धानविनाको योजना कार्यान्वयन सम्भव नहुने भन्दै राज्यले अनुसन्धानमैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा पोखरा विश्वविद्यालयका डीन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा पनि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। उनले पछिल्लो पुस्तामा प्रश्न सोध्नभन्दा पनि मौन बस्ने र समस्याबाट भाग्ने प्रवृत्ति बढ्दो रहेको बताए। यसले दीर्घकालीन रूपमा वैदेशिक पलायनलाई बढावा दिने चेतावनी पनि दिए।

डा. अधिकारीले वैज्ञानिक सोच र समाधानको खोजीभन्दा पनि सीप सिकेपछि त्यसलाई निरन्तरता नदिने प्रवृत्ति रहेको उल्लेख गर्दै, युवाहरूमा रहेको जिज्ञासालाई निरन्तर अभ्यासमार्फत् मात्र लक्ष्य प्राप्त गर्न सकिने धारणा राखे। समापन कार्यक्रममा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले समाज र देशलाई परिवर्तन गर्ने बताउँदै वडालाई प्रविधि मैत्री बनाउन विभिन्न योजनाहरू अघि बढाइएको जानकारी दिए। उनले तालिममा सहभागी युवाहरूले प्रविधिको माध्यमबाट आय आर्जन गर्न सक्ने वातावरण बनाउने उद्देश्य रहेको उल्लेख गरे।

उनले वडाका तीन सामुदायिक विद्यालयमा ‘फ्रि डे’ को अवधारणासहित प्रविधिमा आधारित सीप विकासका कार्यक्रम अघि सारिएको पनि जानकारी दिए। कार्यक्रममा पोखरा २६ का वडा सदस्य सन्जु बराल, पोखरा विश्वविद्यालय आईटी विभाग संयोजक डा. राममणि अधिकारी, कन्टेन्ट क्रिएटर तथा ‘Miss Guided Nepal’ च्यानलका अमृत थापा, लक्ष्मी आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष चतुर्भुज अधिकारी, वडा २६ का सूचना अधिकारी नवराज सापकोटा, कार्यक्रम संयोजक आकार समूहका इन्जिनियर सन्दिप पौडेल लगायतले विज्ञान, प्रविधि र सीप विकास सम्बन्धमा आफ्नो धारणा राखेका थिए।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट सिकेका सीपहरू प्रस्तुत गरेका थिए। ४५ दिनसम्म सञ्चालित तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाईनमा ४५, रोबोटिक्समा २९ र व्यक्तित्व विकास तालिममा १८ जना सहभागी थिए। समापन समारोहमा प्रशिक्षार्थीहरूले तयार पारेको रिमोट कन्ट्रोल रोबोटिक्स सिजरबाट रिबन काटेर कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले तयार गरेका ६ वटा रोबोटिक्स प्रोजेक्ट, वर्षभरिको चाडपर्व विशेष ग्राफिक्स डिजाइन तथा छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएको थियो।

तालिममा सहभागी विद्यार्थीहरूले पोखरा विश्वविद्यालयद्वारा आयोजित प्रविधि प्रतिस्पर्धामा ‘स्मार्ट कृषि’ र ‘स्मार्ट डस्टबिन’ परियोजनाबाट दोस्रो र तेस्रो स्थान प्राप्त गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई वडा अध्यक्ष थापाले सम्मान गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: