
पोखरा। अधिकृत बिक्रेता संघका सदस्यसहित २४५ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब बोसो (ट्राइग्लिसराइड-टिजी) र युरिक एसिडको परीक्षण गरिएको छ। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब-युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (URL) को प्राविधिक सहयोगमा शनिबार उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह, युरिक एसिड, ट्राइग्लिसराइड लगायतका समस्याबारे प्रकाश पारे। उनले समाजमा फैलिएका भ्रमको पछि नलाग्न आग्रह गर्दै, समय–समयमा स्वास्थ्य परीक्षण गर्न र चिकित्सकको सल्लाहअनुसार खानपान, जीवनशैली र औषधोपचार गर्न सुझाव दिए।
‘सुगरले हानि पुर्याउन पाँच वर्ष लाग्छ, औषधि नखाई नियन्त्रण गर्न सकिन्छ भन्ने भ्रममा परिएमा जीवन नै जोखिममा पर्न सक्छ,’ उनले भने, ‘बेला–बेला जाँच गरी उचित उपचार गरे, खानपान र जीवनशैली सुधार गरे दीर्घ जीवन बाँच्न सकिन्छ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले असाध्य पीडा भएपछि मात्र जाँच गराउने प्रवृत्ति त्याग्न आग्रह गरे। उनले बेला–बेला स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै, अधिकृत बिक्रेता संघ र युनाइटेड रेफरेन्स ल्याब जस्ता संस्थाहरूले सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा कार्यक्रम संयोजक विजेन्द्र शर्मा पौडेल, सचिव दिलीपकुमार श्रेष्ठ लगायतले बोलेका थिए।
युनाइटेड रेफरेन्स ल्याबले स्थापना कालदेखि नै आफ्नै र विभिन्न संघ-संस्थासँगको सहकार्यमा १०० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेको बताइएको छ। URL अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणसम्म स्वास्थ्य सचेतनासँगै गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले शिविरहरू आयोजना गर्दै आएको जानकारी दिए।
