
पोखरा। पोखरा महानगरपालिका-२७ मा आयोजित “वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता-२०८२” भव्य रुपमा सम्पन्न भएको छ। “सभ्य समाजको निर्माण, राइजिङ स्टार युथ क्लबको अभियान” भन्ने मूल नाराका साथ रिठेपानी ब्याडमिन्टन क्लबको आयोजनामा दुई दिवसीय प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिता दुई उमेर समूह – ५० वर्ष मुनि र ५० वर्षमाथि-गरी छुट्टाछुट्टै वर्गमा सम्पन्न गरिएको थियो।
कार्यक्रमको विशेष अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नयाँ भलिबल खेल मैदानको उद्घाटनसँगै ब्याडमिन्टन प्रतियोगिताको पनि उद्घाटन गरे।विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले खेलकुद शारीरिक व्यायाम, अनुशासन र सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
रिठेपानी ब्याडमिन्टन क्लबका अध्यक्ष चिजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राइजिङ स्टार युथ क्लबका अध्यक्ष यमप्रसाद गुरुङ, क्लबका सल्लाहकार भूपू कर्णेल प्रयागराज भण्डारीलगायत अन्य वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए।
प्रतियोगिताको नतिजा, सी लेभल (५० वर्ष मुनि), प्रथम: बेलचन्द्र गुरुङ र राजन भण्डारी, द्वितीय अमन घले र प्रकाश अधिकारी तृतीय, अनिल विक, टोलबहादुर थापा, टेकबहादुर ठाडा र नारायण श्रेष्ठ (संयुक्त समूह) ५० वर्ष माथिको समूह, प्रथम, विष्णु अधिकारी र हरि बुढाथोकी, द्वितीय, भक्त पुन र नरबहादुर पुन, तृतीय, भीम गुरुङ र तेज्यू गुरुङ तथा चिजा गुरुङ र चित्र थापा (संयुक्त समूह), पुरस्कार, ५० वर्ष मुनि समूहका विजेताहरूले क्रमशः रु २५,०००, १५,००० र ७,००० नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे।
५० वर्ष माथिका विजेताहरूले क्रमशः रु २०,०००, १०,००० र ५,००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। यस प्रतियोगिताले स्थानीय युवाहरूमा खेलप्रति रुचि र स्वास्थ्यप्रति जागरूकता बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
