
पोखरा। पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिँदै गरेको नीति तथा कार्यक्रममा समावेश गर्न नागरिक मञ्च गण्डकी पोखराले १६ बुँदे सुझावपत्र पेश गरेको छ। मञ्चका संयोजक विष्णुप्रसाद बरालका अनुसार महानगरलाई सबल, सक्षम र पर्यटनमैत्री बनाउने उद्देश्यले सुझाव तयार पारिएको हो। नेपालकै दोस्रो ठूलो महानगरको रूपमा पोखराको पहिचानलाई अझ व्यवस्थित, समावेशी र उत्तरदायी बनाउनु आवश्यक रहेको मञ्चको भनाइ छ।
सुझावपत्र महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यमार्फत बुझाइएको हो। अधिकृत आचार्यले नीति तथा कार्यक्रम निर्माणमा नागरिक समाजबाट प्राप्त सुझावहरू सकारात्मक संकेत भएको बताएका छन्। उनका अनुसार, नीति निर्माणमा नागरिक सहभागिता र साझेदारीले कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुने अपेक्षा गरिएको छ।
मानवअधिकार एलायन्स कास्कीका अध्यक्ष मधु पन्थीका अनुसार मञ्चले अघि सारेका प्रमुख प्रस्तावहरूमा सार्वजनिक स्थानहरूमा आधुनिक शौचालय निर्माण, र सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त हुने रकमलाई एकद्वार प्रणालीमार्फत महानगरको बास्केट कोषमा संकलन गरी परिचालन गर्ने व्यवस्था रहेका छन्। पन्थीका अनुसार यस्ता संरचनात्मक र दीगो विकासमुखी प्रस्तावले नगरको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याउनेछन्।
