
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायिक व्यूटिसियनहरूका लागि दुईदिने प्रोफेसनल व्युटी सेमिनार (एडभान्स मेकअप एण्ड हेयरस्टाइल) तालिम सम्पन्न भएको छ।असार ४ र ५ गते संघको कार्यकक्षमा आयोजित उक्त तालिममा संघमा आवद्ध २३ जना व्यावसायिक व्यूटिसियनहरूको सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा बोल्दै संघका अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समय व्युटी व्यवसायको माग बढ्दै गएकाले सहभागीहरूलाई अझ दक्ष र व्यवसायमैत्री बनाउन तालिम आयोजना गरिएको बताए। उनले सिपको विकाससँगै आयआर्जनमा जोडिन आग्रह गरे।
प्रशिक्षक एवं मायाज व्युटी पार्लरकी सञ्चालिका गीता गिरीले सिकाइलाई जीवनको महत्वपूर्ण अङ्ग बताउँदै सिपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्न प्रेरित गरिन्।
सहभागीहरूको तर्फबाट रुपकला श्रेष्ठले तालिम अत्यन्तै फलदायी भएको धारणा राख्दै यस्ता एडभान्स तालिमहरूले व्यवसायमा उत्साह थप्नुका साथै समयानुकूल परिमार्जन गर्न सहयोग पुग्ने बताइन्।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पदाधिकारी, कार्यसमिति सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।
संघकी कार्यसमिति सदस्य तथा महिला उद्यमी समन्वय उपसमिति संयोजक गंगा मल्लले यस्ता तालिमहरू सहभागीहरूको व्यवसायिक यात्रामा मार्गदर्शक हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको संचालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यक्रम संयोजक इन्दिरा रोक्काले दिएकी थिइन्। समापनमा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद व्यक्त गरेका थिए।
