टप्स सेकेन्डरी स्कूलमा एसईई कप स्पोर्ट्स फेस्ट सुरु

Share:

पोखरा । पोखराको बगर, नयाँचोकस्थित टप्स सेकेन्डरी स्कूलमा बिहीबारदेखि एसईई कप २०८२ अन्तर्गतको स्पोर्ट्स फेस्ट सुरु भएको छ। हालै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालयले प्रतियोगिता आयोजना गरेको हो।

असार १० गतेसम्म सञ्चालन हुने उक्त फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) तथा साइन्स क्विज प्रतियोगिता समावेश गरिएका छन्। विद्यालयका खेल संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ५४ टिम, बास्केटबलमा २४ छात्र टिम र ४ छात्रा टिम, भलिबलमा ३२ छात्र टिम र ८ छात्रा टिम, साइन्स क्विजमा ३२ टिमको सहभागिता रहेको छ।

फेस्टको पहिलो दिन बास्केटबलका पाँच खेल सम्पन्न भए। खेल संयोजक देवकोटाले शैक्षिक गतिविधिसँगै खेल क्षेत्रलाई समान रूपमा महत्व दिँदै विद्यार्थीहरूमा विविध प्रतिभाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

स्पोर्ट्स फेस्टको उद्घाटन पोखरा-१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले गरे। उनले विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम उपयोगी हुने भन्दै टप्स स्कुललाई भविष्यमा शैक्षिक तथा खेलकुद गतिविधिको उत्कृष्ट नमुना बनाउने चाहना व्यक्त गरे। उद्घाटन अवसरमा उनले प्रतियोगिताका प्रमुख रेफ्री दीपल गुरुङलाई बल हस्तान्तरण गरी खेल प्रारम्भ गरे।

विद्यालयका अध्यक्ष बलबहादुर थापाले टप्स स्कुलप्रति पोखरामात्र होइन, बाहिरी जिल्लाबाट समेत चासो बढ्दै गएको बताए। उनले विद्यालयलाई छिट्टै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको जनाउँदै यही उद्देश्यअनुसार प्रतियोगिता आयोजना गरिएको बताए।

विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यार्थीको खेलकुद प्रतिभालाई प्रोत्साहन दिन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

खेल शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन र स्वास्थ्यको प्रतीक भएको बताइन्। साइन्स केमेस्ट्री संयोजक विकल रानाभाटले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकाय सञ्चालन गरिने जानकारी दिए। कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम अधिकारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: