
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको उत्तरपश्चिम बेनी नगरपालिका-१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको आयोजना र प्रहरी चौकी पाखापानी म्याग्दीको समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहभागी प्रहरी वरिष्ठ हवलदार यामबहादुुर थापाले साइबर अपराध, लागुऔषधको दुर्व्यसन र बालविवाहका सामाजिक, मनोवैज्ञानिक र कानुनी पक्षबारे प्रशिक्षण दिए । उनले साइबर अपराधको परिभाषा दिँदै भने, “कम्प्युटर, इन्टरनेट र मोबाइल प्रविधिको दुरुपयोग गरी हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ।” नेपालमा फेसबुक ह्याक, अश्लील सामग्री प्रसारण, ठगी, धम्की, गोप्य सूचना चोरी, अनलाइन ठगीजस्ता घटनाहरू बढ्दो क्रममा रहेको उनको भनाइ थियो।
साइबर अपराधबाट जोगिन बलियो पासवर्ड प्रयोग गर्न, अनजान व्यक्तिसँग व्यक्तिगत विवरण साटासाट नगर्न र सामाजिक सञ्जालको सचेत प्रयोग गर्नुपर्ने सुझाव उनले दिए। साथै, विद्युतीय अपराध ऐन २०६३ अन्तर्गत साइबर अपराध गर्ने जो-कोहीलाई जरिवाना वा कैद हुने कानुनी व्यवस्था रहेको जानकारी पनि गराएका थिए ।
त्यस्तै, लागू औषधको प्रयोग विशेष गरी किशोर-किशोरीमा तीव्र रूपमा फैलिरहेको भन्दै उनले यसको कारणले मानसिक, शारीरिक, पारिवारिक र सामाजिक क्षति र्पुयाउने खतरा औंल्याए। “विद्यालय वरपर समाजमा लागू औषधको पहुँच बढ्दै गएको छ, यसबाट जोगिन अभिभावक, शिक्षक र समुदाय सबैले मिलेर सचेतना फैलाउन जरुरी छ,” उनले भने।
बालविवाहसम्बन्धी जानकारी दिँदै अर्का सहजकर्ता प्रहरी जवान रामबहादुर बुुढाले बालविवाहले बालबालिकाको शिक्षामा बाधा पुग्ने, स्वास्थ्यमा समस्या ल्याउने र भावी जीवनमा असमानता तथा हिंसा निम्त्याउने हुँदा त्यसको रोकथाम अत्यन्त आवश्यक रहेको बताए। उनले २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने र उल्लंघन गरे कानुनी कारबाही हुने प्रस्ट पारे ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तथा सुुचना अधिकारी अमृता जिसी रोकाले किशोर अवस्थामा प्रविधिको गलत प्रयोग, लागू औषधको दुव्र्यसन र बालविवाहले विद्यार्थीको भविष्य अन्धकारमय बनाउने हुँदा यस्ता कार्यक्रमले सचेतना फैलाउने र अपराध न्यूनीकरणमा टेवा र्पुयाउने बताए ।
बाल क्लब अध्यक्ष तथा कक्षा ८ की छात्रा सुप्रिया पाइजाले सहभागीको तर्फबाट धारणा राख्दै भने, “हामीलाई साइबर अपराध, लागूऔषध र बालविवाहबारे धेरै जानकारी थिएन, तर यो कार्यक्रममा सहभागी भएर थुप्रै कुरा बुझ्न पाइयो। अब हामी सचेत भएर व्यवहार गर्नेछौं।”
कक्षा ६ देखि ८ सम्मका करिब ४० जना विद्यार्थीहरू सक्रिय सहभागितासहित उपस्थित कार्यक्रमकोे सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा शिक्षक सुजन पुनले गरेका थिए । विद्यालय पक्षले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
