
सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल सिमाङ्कनको कार्य तीव्र रूपमा अघि बढिरहेको छ। तालको सीमा क्षेत्रमा सीमा स्तम्भहरू गाड्ने कार्य सुरु भइसकेको छ। बिहीबार बाराहीचोकदेखि पश्चिम खहरेतर्फ सीमा स्तम्भहरू गाडिएको महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा करिब १८ महिना लामो अध्ययनपछि तालको ‘तालघर’ क्षेत्रमा सीमा निर्धारणको काम सुरु गरिएको हो।
यस अभियानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्य रहेको छ भने नेतृत्व पोखरा महानगरपालिकाले लिएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिको निर्णयअनुसार सीमा स्तम्भ गाड्ने काम अघि बढाइएको हो। फेवातालको चार किल्ला क्षेत्रमा कूल १ हजार ५५ वटा सीमा स्तम्भ गाडिनेछ।
पछिल्लो अध्ययन अनुसार फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (९१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ। सर्वोच्च अदालतले तोकेको ६५ मिटर सुरक्षात्मक क्षेत्र सहित कुल क्षेत्रफल ७.६१६ वर्ग किलोमिटर (९१४ हजार ९७० रोपनी ५ आना २ दाम) पुग्नेछ।
पोखरा महानगर प्रमुख धनराज आचार्यका अनुसार, सीमाङ्कन सम्पन्न भएपछि ताल क्षेत्रमा पर्ने जग्गाको अवस्थाबारे थप अध्ययन गरिनेछ र मुआब्जा दिनु पर्ने वा नपर्ने विषयमा यकिन निर्णय गरिनेछ। साथै, ६५ मिटरभित्रका संरचना हटाउने काम पनि चरणबद्ध रूपमा अगाडि बढाइने उनले बताए।









