एसओएस हर्मन माइनर स्कुलमा योग प्रशिक्षण

Share:

पोखरा। एसओएस हर्मन माइनर स्कुल, पोखरा-१० रामबजारमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता थियो।

दिवसको अघिल्लो दिन विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, पोखरा-१७ विरौटाका सचिव राजयोगी ब्रह्मकुमार शिशिर योगीले प्रमुख वक्ताको रूपमा योग र ध्यानबारे चर्चा गरे। उनले मानसिक नियन्त्रण तथा ध्यान एकाग्रताका लागि योग अत्यन्तै महत्वपूर्ण भएको बताए।

विद्यालयका नेपाली शिक्षक तथा योग प्रशिक्षकले योगासनका विभिन्न अभ्यास र जानकारी प्रदान गरेका थिए। यस वर्षको योग दिवसको नारा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने तय गरिएको छ।

विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले ध्यानविना जीवन अर्थपूर्ण नहुने बताउँदै विद्यार्थीलाई अनुशासित र एकाग्र बनाउन योग शिक्षा प्रभावकारी हुने धारणा व्यक्त गरे। उनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विद्यार्थीमा देखिएको बेचैनी कम गर्न योग र आध्यात्मिक शिक्षामा जोड दिइएको बताए।

कार्यक्रममा झण्डै ४ सय शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: