
पोखरा। पोखरामा गुड्ने नगर बसहरूको प्रदूषण जाँचका क्रममा करिब ५० प्रतिशत सवारी साधन प्रदूषण मापदण्डमा असफल भएका छन्। यातायात व्यवस्था कार्यालय, कास्कीले शुक्रबार आकस्मिक रूपमा सञ्चालन गरेको परीक्षणमा २१ सवारीमध्ये १० वटा गाडी प्रदूषण मापदण्डमा फेल भएको जानकारी इन्जिनियर सुमन शर्माले दिएका छन्।
उनका अनुसार, मापदण्डमा फेल भएका सवारीहरूको कागजात जफत गरिएको छ र ती गाडीहरूलाई मर्मत गरी पुनः परीक्षणमा पास भएपछि मात्र सञ्चालन अनुमति दिइनेछ। डिजेल इञ्जिन भएका सवारीको प्रदूषण स्तर ‘ओपासिटी’ विधिबाट मापन गरिन्छ। नेपाल सरकारको मापदण्डअनुसार ६५ प्रतिशत ओपासिटीसम्मलाई पास मानिन्छ भने सोभन्दा बढी भएमा गाडी फेल ठहरिन्छ।
इन्जिनियर शर्माका अनुसार, ‘‘आकस्मिक परीक्षणमा झन्डै ५० प्रतिशत गाडी फेल भएका छन्। जाँच पास नभएका गाडीका कागजात नियन्त्रणमा लिई पुनः मर्मत र परीक्षणपछि मात्र फिर्ता गरिनेछ।’’ उनले १०० प्रतिशत ओपासिटीको अर्थ गाडीबाट कुनै पनि धुवाँ ननिस्किएको अवस्था हुने बताए।
कार्यालय प्रमुख ढाका प्रसाद शर्माले दुई हप्ता अगाडि गरिएको नमुना परीक्षणमा पनि १० मध्ये ६ गाडी फेल भएको स्मरण गरे। तर पछिल्लो परीक्षणमा पास हुने अनुपात बढ्नुलाई उनले सकारात्मक संकेतका रूपमा लिएका छन्।
उनका अनुसार, ट्राफिक प्रहरीसँगको समन्वयमा अत्यधिक धुवाँ फाल्ने गाडीहरूलाई कारबाहीका लागि कार्यालयमा पठाउन निर्देशन दिइएको छ। जसका कारण सवारी धनीहरू सचेत बन्न थालेका छन्। फेल भएका गाडीहरूले मर्मतपछि पुनः जाँच पास गरी सञ्चालन अनुमति लिइसकेको पनि उनले जानकारी दिए।
स्थानीयवासीहरू लामो समयदेखि पोखरामा गुड्ने सवारीबाट निस्कने अत्यधिक धुवाँका कारण स्वास्थ्य र वातावरणमा नकारात्मक असर परेको गुनासो गर्दै आएका छन्। यद्यपि, यातायात व्यवसायीहरू भने इन्धनको गुणस्तर कमजोर भएकोले अत्यधिक धुवाँ निस्कने समस्या देखिएको दाबी गर्छन्।
