
पोखरा । स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. १ लामपाटन मार्गस्थित अभियान महिला समूहले ह्याण्डवास, फिनेल र झोल साबुन बनाउने तालिम सञ्चालन गरेको छ। “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ आइतबारदेखि सञ्चालन भएको उक्त तालिम पोखरा महानगरपालिका वडा नं. १ कार्यालयको सहयोगमा आयोजित हो। तालिममा लक्ष्मी पौडेलले सहजीकरण गरेकी छन्।
तालिमको उद्घाटन वडा अध्यक्ष सहारा प्रधानले गर्दै सहभागीहरुलाई सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। अध्यक्ष प्रधानले तालिमलाई वडाका लागि नयाँ र महत्वपूर्ण पहल भएको बताए। उनले तालिमपछि समूहका सदस्यहरूले ह्याण्डवास, फिनेल र झोल साबुन उत्पादन गरी व्यवसायसँगै आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरे।
अभियान महिला समूहकी अध्यक्ष सरस्वती रिमालका अनुसार तालिममा समूहमा आबद्ध ४० जना सदस्यहरूको सहभागिता रहेको थियो। तालिमपछि सिकेका सीपहरू प्रयोगमा ल्याई आफ्नै उत्पादन थाल्ने तयारी सदस्यहरूले गरिरहेको रिमालले जानकारी दिइन्।
