
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ओभरपास औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सवारी साधन ओभरपासमार्फत आवागमन गर्न थालेका हुन्।
काठमाडौं उपत्यकाका व्यस्त चोकमध्ये एक मानिने ग्वार्कोमा निर्माण गरिएको यो ओभरपासले चक्रपथको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ। चार लेनको उक्त ओभरपासको चौडाइ १०.२ मिटर छ। ओभरपासअन्तर्गत कोटेश्वरतर्फ ३२० मिटर लामो र्याम्प तथा सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ।
यस परियोजनाको निर्माण कार्य २०७८ सालको फागुन महिनाबाट सुरु गरिएको थियो। आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा निर्माणको जिम्मा लिएको हो। सुरुआतमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समयमै काम नसकिएपछि दुई पटक म्याद थप गरिएको थियो। अन्ततः पुस १० गतेदेखि निर्माण कम्पनीलाई जरिवानासहित काममा लगाइएको थियो।
ग्वार्को ओभरपासले पश्चिम काभ्रेपलाञ्चोक र पूर्व ललितपुर जोड्ने मुख्य मार्गको रूपमा कार्य गर्नेछ। सातदोबाटो, बालकुमारी, मंगलबजारतर्फ जाने तथा फर्कने सवारी साधनको चाप व्यवस्थापन गर्न यो संरचना निर्माण गरिएको हो।
अब मंगलबजार र इमाडोलतर्फ जाने सवारी ओभरपासमुनिबाट सञ्चालन हुनेछन्, भने कोटेश्वर र सातदोबाटोतर्फ जाने सवारीले ओभरपास प्रयोग गर्न सक्नेछन्। स्थानीय बासिन्दा तथा नियमित यात्रुहरूका लागि यो पूर्वाधार ट्राफिक व्यवस्थापनमा सहयोगी हुने विश्वास लिइएको छ।
