
पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १७ जनाले आवेदन दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सिफारिस समितिले तोकेको समयसीमाअनुसार मंगलबार साँझ ५ बजेसम्म १७ जनाले आवेदन दर्ता गराएका हुन्।
तत्कालीन उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीको चार वर्षे कार्यकाल गत चैत २० गते सकिएपछि प्रतिष्ठान नेतृत्वविहीन बनेको थियो। करिब तीन महिनापछि मन्त्रालयले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो।
प्रतिष्ठानको नेतृत्व लिन प्राध्यापक डाक्टरदेखि विशेषज्ञ चिकित्सकसम्मले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। आवेदन दिनेहरूमा प्रा.डा. अर्जुन आचार्य, डा. प्रदीप घिमिरे, प्रा.डा. माया लामा, प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. भरतबहादुर खत्री, प्रा.डा. राकेशकुमार वर्मा, प्रा.डा. राजेश अधिकारी, र प्रा.डा. नारायण सिंह गुरुङ छन्।
त्यस्तै, प्रा.डा. प्रेमराज ज्ञवाली, प्रा.डा. विधाननिधि पौडेल, प्रा.डा. ईश्वर शर्मा कँडेल, प्रा.डा. दिपकराज पौडेल, डा. श्रीकृष्ण श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, प्रा.डा. विष्णुप्रसाद शर्मा, डा. रामेशराज कोइराला, र डा. लक्ष्मी नारायण सिंहले पनि उपकुलपतिका लागि कार्ययोजनासहित आवेदन दिएका छन्।
सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै कर्णाली, बीपी कोइराला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा समेत उपकुलपति नियुक्तिको प्रक्रिया एकैसाथ अघि बढाएको छ। यसले स्वास्थ्य क्षेत्रको नेतृत्व चयनको विषयलाई थप चासोको विषय बनाएको छ।
अब सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्यांकन प्रक्रिया सुरु गर्नेछ। समितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यानुभव, र उनीहरूले प्रस्तुत गरेको प्रतिष्ठान विकाससम्बन्धी रणनीतिक कार्ययोजनाको मूल्यांकन गरी संक्षिप्त सूची (सर्टलिस्ट) तयार गर्नेछ। त्यसपछि, उपकुलपतिका लागि ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गरिनेछ। सोही सिफारिसका आधारमा कुलपतिले एक जनालाई आगामी चार वर्षका लागि उपकुलपतिमा नियुक्त गर्ने कानुनी व्यवस्था छ।
