चरा अवलोकनमा नयाँ युग, नवलपुरमा ४० नेचर गाइडलाई तालिम

Share:

पोखरा। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत गुन्द्रही ढाकाह, नमुना, शान्तिकुञ्ज र कृष्णसार मध्यवर्ती क्षेत्र आसपासमा कार्यरत ४० जना नेचर गाइडहरूका लागि नवलपुरमा तीनदिने पक्षी पहिचान, अवलोकन र दिगो पक्षी पर्यटन सम्बन्धी तालिम सम्पन्न भएको छ। तालिम पोखरा पक्षी समाजको आयोजनामा, नेपाल पर्यटन बोर्डको सहयोग र नेचर गाइड एसोसिएसन नवलपुरको सहकार्यमा असार ८, ९ र १० गते थारु सामुदायिक लज, गदार, नवलपुरमा सञ्चालन गरिएको थियो।

तालिममा नेपाल पक्षीविद् संघका अध्यक्ष एवं चराविद् हठन चौधरी, बर्ड्स नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली, पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, सचिव हेमन्त ढकाल, हिमालयन ट्रेल्सका गोपी श्रेष्ठ, नेपाल नेचर ट्रेक्सका राजेन्द्र गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ तथा नेपाल पक्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्याल लगायत प्रशिक्षकहरूले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसहित स्थलगत प्रयोगात्मक कक्षाहरू सञ्चालन गरेका थिए।

तालिमको समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे। कार्यक्रम पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

समापन समारोहमा डा. पन्तसँगै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारी, नयाँ गोरखगणका गणपति सेनानी शिवराम बस्न्यात, नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत युवराज गुरुब, नेचर गाइड एसोसिएसन नवलपुरका अध्यक्ष लालबहादुर बोटे, वेटल्याण्ड इन्टरनेशनल एशियन वाटर बर्ड सेन्ससका नेपाल संयोजक लक्ष्मणप्रसाद पौड्याल, जटायु रेष्टुरेन्ट समिति पिठौलीका संयोजक धनबहादुर चौधरी, नेपाल पक्षी संरक्षण संघका पूर्वअध्यक्ष राजेन्द्र गुरुङ, र अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरे लगायत वक्ताहरूले पक्षी पर्यटनले स्थानीय रोजगारीको सम्भावना बढाउने, सीप र ज्ञानमा अभिवृद्धि गर्ने तथा जैविक विविधताको संरक्षणमा सकारात्मक टेवा पुग्नेमा जोड दिए।

पछिल्ला वर्षहरूमा पक्षी पर्यटन- अर्थात् चराको अवलोकन र अध्ययनका लागि गरिने यात्रा- मा आम चासो बढ्दो क्रममा छ। चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको नवलपुर पक्षी पर्यटनको उल्लेखनीय सम्भावना बोकेको क्षेत्र हो। तालिमले यस क्षेत्रलाई पक्षी पर्यटनको केन्द्रका रूपमा विकास गर्न थप टेवा पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: