
पोखरा । पोखरा महानगरपालिका-२२ स्थित पुम्दी भुम्दीमा टिप्परको ठक्करबाट स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिका-४ सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको शुक्रबार दिउँसो दुर्घटनापछि उपचारका क्रममा ज्यान गएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेका अनुसार, दिउँसो करिब १२:३० बजे ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई बगालटारीमा ठक्कर दिएको थियो।
दुर्घटनापछि गम्भीर घाइते क्षेत्रीलाई प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्याएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समयका लागि सो क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो। हाल टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
