भण्डारढिक रंगशालामा रग्बी प्रतियोगिता सम्पन्न

Share:

पोखरा। कास्की जिल्ला रग्बी संघको आयोजनामा भण्डारढिक रंगशालामा सम्पन्न भएको विद्यालयस्तरीय रग्बी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको सहयोग र विद्यालय रग्बी आयोगको समन्वयमा असार १३ र १४ गते दुई दिनसम्म चलेको सो प्रतियोगितामा लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल दुवै विधामा च्याम्पियन बन्न सफल भयो।

फाइनल खेलमा रोमाञ्चक जित
छात्र तर्फको फाइनल खेलमा लेखनाथ मेमोरियलले सोसल पब्लिक स्कूललाई १–० ट्राईबेकरले पछि पार्दै उपाधि हात पार्‍यो। छात्रा तर्फ पनि लेखनाथ मेमोरियलले लिटल फ्लावर एजुकेशनल सेकेन्डरी स्कुललाई १–० ट्राईबेकरले हराउँदै दोहोरो उपाधि जित्यो।

अन्य स्थानहरूमा कडा प्रतिस्पर्धा
छात्र तर्फ लिटल फ्लावरले न्यू एरा एकेडेमीलाई २-१ ट्राईले हराउँदै तृतीय स्थान हासिल गर्‍यो भने न्यू एरा चौथो स्थानमा रह्यो। छात्रा तर्फ न्यू एरा एकेडेमीले सोसल पब्लिक स्कूललाई पेनाल्टी, नक अन तथा मेजोरिटी मिस्टेकका आधारमा पाखा लगाउँदै तृतीय स्थान प्राप्त गर्‍यो।

सेभेन्स रग्बी पनि सम्पन्न
प्रतियोगिताको दोस्रो दिन पोखरा सेभेन्सको दोस्रो संस्करण अन्तर्गत गण्डकी प्रदेशका खेलाडीहरूलाई दुई टिममा बाँडेर मैत्रीपूर्ण खेलसमेत सम्पन्न गरिएको थियो। उक्त खेलमा टिम ‘मोशेस’ ले टिम ‘संगम’ लाई ५–३ ट्राईले पराजित गर्दै विजेता बन्यो।

सम्मान तथा पुरस्कार वितरण
प्रतियोगितामा पदक विजेता समूहहरूलाई पोखरा महानगरपालिका–२९ का वडाध्यक्ष श्री प्रसाद गुरुङ, राखेप बोर्ड सदस्य मधुसुदन सुबेदी, पोखरा महानगर खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक बहादुर गोदार, समाजसेवी चेतबहादुर गुरुङ, विद्यालय रग्बी आयोगका केन्द्रीय सदस्य खिम गुरुङ, गण्डकी प्रदेश अध्यक्ष मिलन केसी, लेखनाथ पत्रकार मञ्च अध्यक्ष विष्णुहरि पौडेल, तथा कास्की जिल्ला रग्बी संघ अध्यक्ष सुवास खड्कालगायतले पुरस्कार वितरण गरे।

रग्बी संघको निरन्तर प्रयास
वि.सं. २०७२ मा गठन भएको कास्की जिल्ला रग्बी संघले खेलाडी, प्रशिक्षक र रेफ्री उत्पादनका लागि नियमित रूपमा तालिम र प्रतियोगिता सञ्चालन गर्दै आएको छ। संघले भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: