
पोखरा । जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ। एकेडेमीले आश्रममा आश्रित वृद्धवृद्धा र बालबालिकालाई सहयोगस्वरूप चामल, दाल, नुन, तेल, आलु लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ की अध्यक्ष तथा एमाले नेतृ राधिका शाही योगीले जननेता भण्डारीको विचार र दर्शनलाई आत्मसात गर्दै स्पोर्ट्स एकेडेमीले सामाजिक सेवामा देखाएको सक्रियता सराहनीय रहेको बताइन्। उनले भनिन्, “जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्दै दिनदुखीको सेवामा समर्पित हुनु आजको आवश्यकता हो।”
उनले मानव सेवाका लागि सबै संघ-संस्था र व्यक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै आफूपनि यस्तो सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।
मानव सेवा आश्रम पोखराका प्रमुख सदीश पुनले आश्रममा आश्रित आमाबुबा र बालबालिकालाई प्रदान गरिएको सहयोगप्रति एकेडेमीप्रति आभार व्यक्त गर्दै भने, “मदन भण्डारी कम्युनिस्ट आन्दोलनका अमूल्य धरोहर हुन्। उहाँको मार्गदर्शनमा समाजसेवामा समेत योगदान पुर्याउनु प्रेरणादायक छ।”
उनका अनुसार हाल आश्रमको छोरेपाटन शाखामा करिब १०० जना तथा हेम्जा शाखामा १७० जना वृद्धवृद्धा र बालबालिका आश्रित छन्। उनीहरूको खानपिन, बसोबास तथा उपचारको व्यवस्थापन स्वदेश तथा विदेशमा रहेका नेपाली दाताहरूको सहयोगमा भइरहेको उनले जानकारी दिए।
कार्यक्रममा एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरुङले खेलकुदसँगै सामाजिक सेवा अभियानलाई समेत एकेडेमीले अगाडि बढाइरहेको जानकारी गराउँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा एकेडेमीका उपाध्यक्ष सुजन आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन एकेडेमीका कोषाध्यक्ष सूर्य मोहन आचार्यले गरेका थिए।
