
पोखरा। पोखरा महानगरपालिका वडा नं. २५, हेमजाले जैविक विविधताको संरक्षण र जनचेतनाका लागि राजगोमन (कालिनाग) सर्पलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरो (Barn Owl) लाई ‘वडा पंक्षी’ घोषणा गरेको छ। शनिबार सम्पन्न सर्प तथा लाटोकोसेरो संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा वडाध्यक्ष तथा पोखरा महानगर प्रवक्ता मोतीलाल तिम्सिनाले यो घोषणा गरेका हुन्।
स्नेक कन्जर्भेसन सोसाइटी नेपालको आयोजनामा, प्रकृतिका साथीहरु संस्थाको सहकार्यमा र वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरिएको हो। वडाध्यक्ष तिम्सिनाका अनुसार वडा कार्यालयको बैठकबाट निर्णय गरी उक्त घोषणा गरिएको हो। नेपालमा राजगोमन सर्पलाई वडा सर्पको रूपमा मान्यता दिने हेमजा पहिलो स्थानीय तह हो।
विश्वभर करिब ४ हजार प्रजातिका सर्पमध्ये नेपालमा ८२ प्रजाति पाइन्छन्। कास्की जिल्लामा ४० र हेमजा क्षेत्रमा २२ प्रजातिका सर्प अभिलेख गरिएको छ। तीमध्ये राजगोमन सर्प विशेष लज्जालु र उपयोगी मानिन्छ। राजगोमन सर्प मुख्यतः अरु सर्प खाएर वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दछ। यसले अन्य सर्पको संख्या नियन्त्रण गर्ने भएकाले जैविक सन्तुलन कायम गर्न योगदान पुर्याउँछ। सदियौँदेखि नाग पञ्चमीका दिन पुजिँदै आएको राजगोमन हेमजाका खोलानाला, वनजंगलमा गुँड बनाएर बच्चा हुर्काउने गर्छ।
गोठे लाटोकोसेरोको भूमिका
नेपालमा हालसम्म २३ प्रजातिका लाटोकोसेरो अभिलेख गरिएको छ, जसमा पोखरा उपत्यकामा १३ र हेमजामा ७ प्रजाति पाइन्छन्। गोठे लाटोकोसेरो प्रायः मानव बस्ती नजिकै बस्ने र मुसा खाएर कृषकलाई सहयोग गर्ने भएकाले ‘किसानको साथी’ भनेर चिनिन्छ।
प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यका अनुसार एक लाटोकोसेरो परिवारले एक सिजनमा २ देखि ३ हजार मुसा खाएर कृषि उत्पादनमा उल्लेख्य योगदान दिन सक्छ। हेमजाको तिब्रेकोट सामुदायिक वनलाई यसअघि नै लाटोकोसेरो संरक्षित वन घोषणा गरिसकिएको छ।
संरक्षण र अनुसन्धानको केन्द्र
वडाध्यक्ष तिम्सिनाले हेमजालाई जैविक विविधताको संरक्षण, अध्ययन अनुसन्धान र पर्यावरणीय पर्यटन प्रवर्द्धनको केन्द्र बनाउन यो घोषणा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सर्प संरक्षणसम्बन्धी सहजीकरण स्नेक कन्जर्भेसन सोसाइटी नेपालका अध्यक्ष डा. रामजी गौतम, अनुसन्धानकर्मी अभिषेक सापकोटा र निर्देशक राजु आचार्यले गरेका थिए।
कार्यक्रम डा. गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य कोषाध्यक्ष केशवराज सापकोटाले राखेका थिए भने सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गरेका थिए।
