
पोखरा । पोखरा महानगरपालिका-४, गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावकहरूका लागि उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ। “अभिभावकको महत्त्व र विद्यार्थी भविष्यका नेतृत्वकर्ता” भन्ने मुख्य विषयवस्तुमा आधारित कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता तथा मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीले प्रमुख मन्तव्य दिए ।
सफलता र कर्मका सूत्र
उनले जीवनमा सफलता प्राप्त गर्न विद्यार्थी, अभिभावक र विद्यालयबीच त्रिकोणात्मक सहकार्य आवश्यक भएको उल्लेख गरे। “सफलता सजिलै प्राप्त हुँदैन, त्यसका लागि निरन्तर मेहनत, असल कर्म र शुद्ध सोच जरुरी हुन्छ,” अधिकारीले भने ।
अधिकारीका अनुसार बेचैनी सबै उमेर समूहमा देखिन्छ र त्यसको समाधान आफैंभित्र खोज्न सकिन्छ। खराब खानपान, जीवनशैली र सोचले जीवनलाई भौतिक रूपमा सम्पन्न देखिए पनि आत्मिक रूपमा कमजोर बनाउँछ भन्ने उनको भनाइ थियो। “चित्त शुद्ध बनाएर, चेतना अभिवृद्धि गरेर र खराब आचरण त्याग्न सके असल सफलता निश्चय प्राप्त हुन्छ,” उनले भने ।
अभिभावक र शिक्षकको भूमिका
कार्यक्रममा उनले अभिभावक, शिक्षक र विद्यार्थी सबैले सकारात्मक सोच राख्नुपर्ने, स्वावलम्बी बन्नुपर्ने र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे। एक शब्दले पनि जीवनमा ठूलो असर पार्न सक्छ भन्दै, बालबालिकाका गल्तीमा अभिभावकले कठोर व्यवहार नगरी उत्प्रेरणात्मक शब्द प्रयोग गर्नुपर्ने सन्देश दिए। “हामीभन्दा आजका विद्यार्थीहरू एआई युगका हुन्। उनीहरूलाई कम आँक्नु हुँदैन,” अधिकारीले जोड दिए।
विद्यालयप्रतिको प्रशंसा
कुमुदिनी होम्समा गरिएको अवलोकनबाट आफू प्रभावित भएको बताउँदै अधिकारीले विद्यालयको हरियाली वातावरण, कला-संस्कृतिको झल्को, आधुनिक ल्याब, कलासंग्रहालय, पुरानो शैलीका भवन र उत्कृष्ट शैक्षिक उपलब्धिको खुलेर प्रशंसा गरे। हालैको एसईई परीक्षामा चारजिपिए प्राप्त विद्यार्थीहरूको उपलब्धिलाई उदाहरण दिँदै विद्यालयले चाह्यो भने असम्भव केही हुँदैन भन्ने प्रमाणित भएको बताए।
संस्थापकको भनाइ
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय विगत साढे तीन दशकदेखि सञ्चालनमा रहेको र निरन्तर उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित अघि बढिरहेको जानकारी दिए।
उनले विद्यालयका पूर्वविद्यार्थीहरू पुल्चोक इन्जिनियरिङ, नर्सिङ, आईटी र विदेशी स्कलरसिपहरूमा अध्ययनरत रहेको उदाहरण दिँदै लक्ष्यमा पुग्न मेहनत, आत्मविश्वास र सकारात्मक सोचको महत्त्वबारे बताए। “फेवातालबाट चम्चा र कटौरामा होइन, गाग्री र घैंटोभरि पानी ल्याउने विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो,” पालिखेले प्रेरणात्मक शैलीमा भने।
त्यसैदिन रामजी अधिकारीले फिष्टेल नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई पनि उत्प्रेरणामूलक विचार, ज्ञान र सफलताको सूत्रहरू प्रस्तुत गरे।
