कृषिमा स्वावलम्बनको अभ्यास, बैदाममा किसानलाई झोल मल बनाउने तालिम

Share:

पोखरा । पोखरा महानगरपालिका-६ स्थित वडास्तरीय कृषि सञ्जाल बैदामको आयोजनामा तथा वडा कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा एकदिने प्राङ्गारिक कृषि-झोल मल बनाउने तालिम शनिबार सम्पन्न भएको छ।

तालिममा कौसी खेती क्वीन प्रतियोगिताका उपविजेता तथा कृषि प्रशिक्षक कान्ति पौडेल अधिकारीले सहभागीहरूलाई झोल मल बनाउने तरिका प्रशिक्षण दिएकी थिइन्। तालिममा बैदाम क्षेत्रका स्थानीय संघ-संस्थाबाट करिब ३० जनाको सहभागिता रहेको थियो।

तालिमकै अवसरमा धृतिपी, कफी र कुरिलोसहितका विभिन्न प्रजातिका ३ सय विरुवा समेत वितरण गरिएको सञ्जालकी अध्यक्ष विन्द्रा धरेलले जानकारी दिइन्।

जैविक खेतीतर्फको ध्यान

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ की वडा सदस्य पवित्रा थापाले घरआँगन तथा करेसाबारीमा प्रयोग गरिने मलहरू आफैंले उत्पादन गर्न सके, स्वस्थ र अर्गानिक तरकारी तथा फलफूल खान पाइने बताउँदै, रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने भएकाले किसानलाई प्राङ्गारिक मलप्रति आकर्षित गराउन यस्ता तालिम प्रभावकारी भएको उल्लेख गरे।

झोल मलको महत्व

प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मललाई एक प्रभावकारी जैविक मलको रूपमा प्रयोग गर्न सकिने बताउँदै, गाईवस्तुको गोबर, पिसाब, ईएम (सूक्ष्मजीव), जिवातु तथा पानीको मिश्रणबाट झोल मल तयार गर्न सकिने जानकारी दिए। उनले प्राङ्गारिक मल प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुहरू स्वास्थ्यका लागि सुरक्षित हुने हुँदा किसानहरूले यसप्रति ध्यान दिनुपर्ने सुझाव दिए।

जनप्रतिनिधिहरूको अभिमत

वडा सदस्य बासु बरालले सञ्जालले रासायनिक मलका दुष्परिणाम भोग्दै आएका किसानहरूलाई प्राङ्गारिक मलको विकल्प दिन तालिम आयोजना गर्नु सराहनीय कार्य भएको बताए।

वडा सदस्य शोभा जलारीले बेरोजगारी अन्त्य गर्न सीपमूलक तालिम आवश्यक रहेको बताउँदै, यस्तो तालिमले महिला र स्थानीयलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रम सञ्जाल अध्यक्ष विन्द्रा धरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपाने र सचिव चन्द्रकला घिमिरे पहारीलगायतले तालिममा सिकिएको ज्ञान व्यवहारमा उतार्न सके मात्र यस्ता तालिमको सार्थकता हुने धारणा व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: