
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले पहिलोपटक पूर्ण रूपमा स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतको प्रयोग गरेर इन्धन डिपो निर्माण सम्पन्न गरेको छ। परियोजनाका प्रमुख ई. प्रदीप यादवका अनुसार, निगमको ५५ वर्षे इतिहासमै यो पहिलो यस्तो परियोजना हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा निगमले डिपोसम्बन्धी जानकारी दिँदै, कुल ३,६०० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिएको बतायो। प्रत्येक ट्याङ्कको क्षमता १,२०० किलोलिटर रहेको छ।
यस परियोजनाको परामर्श तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने जिम्मा पुल्चोक इञ्जिनियरिङ क्याम्पसलाई दिइएको थियो। कार्यक्रममा सहायक डिन सुरज लामिछानेले नेपाली विज्ञद्वारा निर्माण सम्पन्न हुनु गौरवको विषय भएको बताए।
डिपो ईपीसी मोडेलमा निर्माण गरिएको हो, जसको लागत (भ्याट बाहेक) प्रारम्भमा ७५ करोड रुपैयाँ थियो, तर लागत समायोजनपछिको संशोधित अनुमान ७९ करोड रुपैयाँ पुगेको छ।
डिपोमा API (American Petroleum Institute) मापदण्डअनुसार १२ मिटर उचाइ र १२ मिटर व्यास भएका भर्टिकल स्टोरेज ट्याङ्कहरू छन्। उच्च सुरक्षा सुनिश्चित गर्न अत्याधुनिक फायर फाइटिङ प्रणाली जडान गरिएको छ, जसमा १,२०० किलोलिटरको पानी ट्यांकी, ४,००० लिटर फोम स्टोरेज ट्याङ्क, १३० घनमिटर क्षमताका दुईवटा डिजेल पम्प, र ९५ हर्सपावरको जक्की पम्प समावेश छन्।
वर्तमानमा निगमले पोखराको विमानस्थलमा इन्धन ल्याएर आपूर्ति गर्दै आएको छ। डिपो सञ्चालनमा आएपछि विमानस्थलको चार महिनासम्मको इन्धन माग पूरा गर्न सकिने छ। भविष्यमा माग वृद्धि हुने सम्भावनालाई ध्यानमा राखेर पनि डिपोको क्षमता तय गरिएको परियोजना प्रमुख यादवले जनाए।
डिपोको औपचारिक उद्घाटन साउनमा हुने जनाइएको छ। यसले पोखराबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि इन्धन आपूर्ति निरन्तर र व्यवस्थित बनाउने विश्वास निगमले व्यक्त गरेको छ।
