
पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरूका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
शुक्रबार आयोजित उक्त तालिममा विशेषगरी खेलकुद क्षेत्रमा रुचि राख्ने गण्डकी प्रदेशका सक्रिय पत्रकारहरूलाई भलिबल, एथलेटिक्स र क्रिकेटसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले खेलका नीति, नियम र मापदण्डका विषयमा जानकारी गराउँदै, समाचार लेख्दा पत्रकारहरूले ध्यान दिनुपर्ने प्राविधिक पक्षहरूमाथि विशेष जोड दिएका थिए।
तालिममा सहभागी पत्रकारहरूले खेलसम्बन्धी समाचार तयार गर्दा टेक्निकल नियम बुझ्न आवश्यक रहेको बताएका छन्। उनीहरूले तालिमले खेलसम्बन्धी समाचारलाई अझ प्रष्ट र तथ्यपरक बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा भलिबलसम्बन्धी प्रशिक्षण राष्ट्रिय प्रशिक्षक राजन पौडेल, एथलेटिक्ससम्बन्धी अन्तर्राष्ट्रिय प्राविधिक अधिकृत (ITO) सिद्धान्त अधिकारी, र क्रिकेटसम्बन्धी प्रशिक्षण रिजन प्रजुले प्रदान गरेका थिए।
तालिमको उद्घाटन सत्रमा मञ्चका अध्यक्ष एम.बी. आस्था मगरले तालिमको उद्देश्य, आवश्यकता र महत्वबारे जानकारी दिँदै यसको निरन्तरताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रको विषयमा सरकारलाई सशक्त सन्देश पुर्याउन पत्रकारहरूलाई खेलका नीति, नियम र संरचना बुझ्नुपर्ने आवश्यकता औँल्याए। साथै, सकारात्मक समाचार प्रकाशनले खेल संघ र खेलाडीहरूलाई हौसला मिल्ने उल्लेख गरे।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए भने सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिए।
