
पोखरा। पोखरास्थित जनप्रकाश बहुमुखी क्याम्पस अल्मुनाइ एशोसिएसनले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले रक्तदानलाई जीवनदानको संज्ञा दिँदै एशोसिएसनको सामाजिक कार्यको प्रशंसा गरे।
कार्यक्रममा क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र केसी र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले रक्तदानको महत्त्वमाथि प्रकाश पारेका थिए।
एशोसिएसनका अध्यक्ष पदम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कमल थापा मगरले गरेका थिए भने सदस्य शशिश भट्टराईले स्वागत मन्तव्य राखेका थिए।
