
पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका-१२ उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत ६० युनिट रगत संकलन गरिएको उपशाखाकी सभापति इन्दिरा पन्त आचार्यले जानकारी दिइन्।
सभापति आचार्यले रक्तदानलाई जीवनदान भन्दै रक्तदानले न केवल अरूको जीवन जोगाउने तर दाताको स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने बताइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले रक्तदान केवल रगत दिने कार्य नभई मानव जीवन बचाउने महान् कर्म भएको उल्लेख गरे। “हामीले दिएको एक युनिट रगतले दुर्घटनामा परेका, उपचाररत, वा जटिल रोगसँग जुधिरहेका व्यक्तिहरूको जीवन बच्न सक्छ,” उनले भने।
मन्त्री केसीले रगत कुनै प्रयोगशालामा उत्पादन गर्न नसकिने भएकाले स्वस्थ व्यक्ति स्वयंले स्वेच्छाले दिनुपर्ने बताए। “यो समाजप्रतिको जिम्मेवारी, सहयोग र साहसको प्रतीक हो,” उनले जोड दिए। साथै, रक्तदान गर्न सक्ने अवस्थामा रहेका सबैलाई नियमित रूपमा यस्तो अभियानमा सहभागी हुन आग्रह गरे।
रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पोखरा-१२ उपशाखाको आयोजनामा, मार्गदर्शन एकेडेमीको व्यवस्थापनमा, र स्थानीय संघसंस्थाहरूको सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्का, मार्गदर्शन एकेडेमीका सञ्चालक पुरण श्रेष्ठ, सल्लाहकार सूर्यप्रसाद आचार्य, निवर्तमान अध्यक्ष कृष्णराज आचार्यलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम उपशाखाका अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन प्रकाश सेढाईंले गरेका थिए। सिद्धान्त बाचन नेपाल रेडक्रसका उपसचिव आइतराम विश्वकर्माबाट गरिएको थियो।
