मातृ-शिशु मितेरी अस्पतालमा दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल एक्सरे सेवा विस्तार

Share:

पोखरा । पोखरा महानगरपालिका-१६ स्थित मातृ-शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया (लैप्रोस्कोपिक सर्जरी) सेवा र डिजिटल प्रणालीमा आधारित डीआर एक्सरे सेवा औपचारिक रूपमा सुरु गरेको छ।

बुधबार आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले सेवा शुभारम्भ गरे।

सेवा विस्तारसँगै बिरामीहरूका लागि अत्याधुनिक प्रविधिबाट शल्यक्रिया सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ। अध्यक्ष पौडेलका अनुसार, गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब ९७ लाख रुपैयाँ लागतमा दूरबिन प्रविधियुक्त शल्यक्रिया मेसिन जडान गरिएको हो।

यस प्रविधिको प्रयोगबाट नाक, कान, घाँटी तथा स्त्रीरोगसम्बन्धी शल्यक्रियाहरू छालामा ठूलो चिरा नपारी साना प्वालमार्फत गर्न सकिनेछ, जसले अस्पताल बसाइको समय घटाउने र उपचार प्रक्रिया सरल बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, करिब ३४ लाख रुपैयाँ लागतमा ५०० एम.ए. क्षमताको डिजिटल एक्सरे (डीआर एक्सरे) मेसिन पनि जडान गरिएको छ। यस सेवाबाट सबै प्रकारका जटिल एक्सरे परीक्षणहरू छिटो, स्पष्ट र प्रभावकारी रूपमा गर्न सकिने डाक्टर धर्मदेव ढकाल, अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले जानकारी दिए।

उनले नवीनतम उपकरण र डिजिटल प्रविधिसहितको यो सेवा विस्तारले पोखराको मातृ–शिशु मितेरी अस्पताललाई स्वास्थ्य सेवा क्षेत्रमा थप सशक्त र सक्षम बनाउने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: