
पोखरा। पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८२ प्रदान गरिने भएको छ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले श्रीस मगरलाई यस वर्षको पुरस्कारका लागि सिफारिस गरेको हो।
मगर पत्रकार संघ कास्कीको आयोजनामा तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्यमा साउन १ गते पोखरामा आयोजना हुने विशेष कार्यक्रममा श्रीस मगरलाई पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक एवं मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकारी दिए।
यस वर्ष पुरस्कार राशी १५ हजार रुपैयाँ तोकिएको छ। उक्त पुरस्कार मगर समुदायको भाषा, कला, धर्म, रीतिरिवाज, संस्कार–संस्कृति तथा कौराहाको संरक्षण र प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पुर्याउने पत्रकारहरूलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ।
विसं. २०७५ मा स्थापना भएको यो पुरस्कारबाट हालसम्म कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), एमबी आस्था (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) सम्मानित भइसकेका छन्।
श्रीस मगर विगत १९ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनले विसं २०६३ मा पृथक यात्रा साहित्यिक द्वैमासिक पत्रिकाबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए।
हाल उनी पोखरास्थित फेवा टेलिभिजनका कार्यकारी सम्पादक तथा कास्की आवाज दैनिकका सम्पादकको रूपमा कार्यरत छन्। यसअघि उनी जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार, कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार तथा मगर सांस्कृतिक पत्रकारिता सम्मान बाट सम्मानित भइसकेका छन्।
श्रीस मगर हाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका इञ्चार्ज तथा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव समेत हुन्।
