
पोखरा । रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य, वातावरण र खाद्य सुरक्षामा गम्भीर संकट निम्त्याएको भन्दै यसको प्राकृतिक विकल्प खोज्न ६ देशका विज्ञहरू पोखरामा भेला भएका छन्। ‘प्राकृतिक समाधानमा केन्द्रित जलवायु-स्मार्ट बाली संरक्षण’ शीर्षकमा सुरु भएको तीनदिने क्षेत्रीय कार्यशालामा नेपाल, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार र भुटानका प्रतिनिधिहरू सहभागी छन्। उनीहरूले रासायनिक विषादीको प्रयोग घटाउने साझा रणनीति तय गर्न विचार-विमर्श सुरु गरेका हुन्।
केन्द्रीय कृषि प्रयोगशालाको आयोजनामा तथा गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालयको सहकार्यमा सञ्चालन भएको कार्यशालाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी कृषि मन्त्री पद्मा जिसी श्रेष्ठले रासायनिक विषादीले उत्पादनमा गिरावट ल्याउनुका साथै माटोको उर्वराशक्ति नष्ट हुने र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने खतरा औंल्याइन्।
‘अब पनि हामी सचेत भई जैविक विकल्प अपनाउन नसके थप संकट निम्तिन सक्छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘दीगो र आत्मनिर्भर कृषि प्रणालीका लागि जैविक विषादीको प्रयोग अपरिहार्य छ।’
कार्यक्रममा सहभागी विज्ञहरूले रासायनिक विषादीको अनियन्त्रित प्रयोगले निकट भविष्यमा खाद्य संकट निम्त्याउने चेतावनी दिएका छन्। वनस्पति क्वारेन्टाइन तथा कीटनाशक व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले भने, ‘प्रकृतिमा आधारित समाधान अहिलेको अपरिहार्य आवश्यकता हो। अन्यथा, जलवायु संकटसँगै वातावरणीय प्रदूषण र खाद्य असुरक्षा थपिने खतरा छ।’
यसैबीच, पोखराका केही किसानले जैविक विषादीको प्रयोगबाटै उत्पादन बढाउन सफल उदाहरण प्रस्तुत गरेका छन्। पोखरा-१३ की व्यावसायिक तरकारी कृषक सकुन्तला चौधरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘चार वर्षअघि रासायनिक विषादी प्रयोग गर्दा लागत बढ्थ्यो र रोग–कीराको समस्या पनि धेरै हुन्थ्यो। अहिले जैविक विषादी प्रयोग गर्दा किराको प्रकोप घटेको छ र उत्पादन पनि बढेको छ।’
गण्डकी प्रदेश कृषि मन्त्रालयले पोखराका विभिन्न स्थानमा टमाटर र सुन्तलाका नमूना फार्महरूमा जैविक विषादीको सफल परीक्षण गरिसकेको जनाएको छ। मन्त्रालयका सचिव वासुदेव रेग्मीका अनुसार यस्ता अभ्यासलाई अन्य क्षेत्रहरूमा विस्तार गर्न कार्यशालाले सहयोग पुर्याउनेछ।
तीन दिनसम्म चल्ने कार्यशालामा सहभागीहरूले आ–आफ्ना देशका सफल अभ्यासहरू आदानप्रदान गर्ने, साझा चुनौतीको समाधान खोज्ने रणनीति बनाउने र पोखरामा रहेको जैविक नमूना फार्मको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
