गण्डकी प्रदेशमा ५५ प्रतिशत रोपाइँ सम्पन्न, लमजुङ अग्रस्थानमा

Share:

पोखरा। गण्डकी प्रदेशमा यो वर्ष धानको रोपाइँ तीव्र गतिमा भइरहेको छ। कुल ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने लक्ष्य राखिएकोमा हालसम्म ५५.५९ प्रतिशत अर्थात् ५२ हजार ३५३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेक बाँकी ९ जिल्लामा धानखेती हुने गरेको छ। सबैभन्दा बढी लमजुङ जिल्लामा रोपाइँ सम्पन्न भएको छ, जहाँ अनुमानित ९,२९९ हेक्टरमध्ये ६,७८४ हेक्टर (झन्डै ७३%) मा रोपाइँ भइसकेको छ।

त्यसपछि क्रमशः कास्कीमा १६,२२० हेक्टरमध्ये १०,०१५ हेक्टर (६२%), नवलपरासी (बर्दघाट सुस्ता पूर्व): १८,७२० हेक्टरमध्ये १०,८६० हेक्टर (५८%), तनहुँ: ८,७२० हेक्टरमध्ये ५,१८० हेक्टर (५९%), बागलुङ: ५,७०७ हेक्टरमध्ये ३,१३८ हेक्टर (५५%), स्याङ्जा: १४,३९० हेक्टरमध्ये ७,४८३ हेक्टर (५२%), म्याग्दी: ३,८०६ हेक्टरमध्ये १,९४१ हेक्टर (५१%), गोरखा: १०,०४० हेक्टरमध्ये ४,०८० हेक्टर (४०%) र पर्वत: ७,१८० हेक्टरमध्ये २,८७२ हेक्टर (४०%) रोपाइँ भइसकेको जनाइएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा धान उत्पादनका लागि उपयुक्त र प्रसिद्ध क्षेत्रहरू रहेका छन्।
जसमा गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार; लमजुङको मध्यनेपाल, भोर्लेटार, नेटा; तनहुँको भानु नगरपालिका र व्यास; कास्कीको मादी गाउँपालिका (मकै खोला, हाडी खोला); पर्वतको फलेवास नगरपालिका (सिमखेत, साझाखेत); स्याङ्जाको पुतलीबजार नगरपालिका (वडा नं. १, ४, ११–१४); म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे; बागलुङको निशिखोला, बरेङ, गलकोट; र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती, मध्यविन्दु र गैँडाकोट क्षेत्र विशेष गरी धानखेतीका लागि परिचित छन्। यी क्षेत्रहरूमा सावित्री, रामधान, सुक्खा–१, सावा, जेठोबुढो, पहेँले, गुर्दी, एक्ले, झिनुवा, पोख्रेली, सावा मन्सुली, जर्नेली जस्ता स्थानीय तथा प्रचलित जातका धानहरू लगाइने गरिन्छ।

कमेन्ट गर्नुहोस्
Share: