
पोखरा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीहरूलाई विश्वव्यापी सञ्जालमार्फत जोड्ने अभियानलाई तीव्र बनाएको छ। नेपालभित्रका सबै प्रदेशमा समिति विस्तारको लक्ष्यसहित फिने सक्रिय रहेको छ।
बागमती प्रदेशमा समिति गठन भइसकेको र गण्डकी प्रदेशमा समिति गठनको तयारी अन्तिम चरणमा पुगेको फिनेका अन्तर्राष्ट्रिय कार्यकारी महासचिव दिपेन घलेले जानकारी दिए। गण्डकी प्रदेशको संयोजकका रूपमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई चयन गरिएको छ। आचार्यका अनुसार आगामी अगस्ट २ तारिखमा पोखरामा भेला गरेर समिति गठन गरिनेछ।
महासचिव घलेका अनुसार, फिनेको स्थापना विदेशमा रहेका नेपाली उद्यमीहरूलाई मातृभूमिसँग जोड्ने उद्देश्यले गरिएको हो। हालसम्म १२ देशमा समिति गठन भइसकेको र अन्य देशहरूमा पनि विस्तार भइरहेको उनले जानकारी दिए।
नेपाल संयोजक रामशरण थापाले देशभित्र सबै प्रदेशमा समिति गठनपछि राष्ट्रिय समिति गठन गरिने जानकारी दिए। उनले फिनेको उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरू मार्फत नेपाली उद्यमीहरूलाई सशक्त बनाउनु रहेको उल्लेख गरे।
कार्यक्रममा बागमती प्रदेश संयोजक कृष्ण खतिवडा, सल्लाहकार रामकुमार थपलिया लगायतले शुभकामना व्यक्त गरेका थिए।
