
पोखरा। आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा पोखरामा प्रभातफेरीसहित विविध कार्यक्रमहरू आयोजना गरिएको छ।
भानु वाङ्मय प्रतिष्ठानको मुख्य आयोजना तथा भानुमार्ग टोल विकास संस्था र भानुमार्ग (क) आमा समूहको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम अन्तर्गत पोखराको मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरी पोखरा-११, फुलबारीस्थित भानु प्रतिमास्थलमा पुगेर सभामा परिणत भएको थियो।
सभामा पोखरा महानगरपालिका वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले नेपाली भाषाको एकीकरणमा भानुभक्त आचार्यले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
भानु वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष तथा कार्यक्रम अध्यक्ष पद्मराज ढकालले संस्कृत भाषामा रचित रामायणलाई नेपालीमा अनुवाद गरेर भानुभक्तले नेपाली भाषा र संस्कृतिको विकासमा अतुलनीय योगदान पुर्याएको बताए।
लोकसंस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले पनि भानुभक्तको योगदानको चर्चा गर्दै उनले संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरेर भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा नेपाली विषय अध्ययनरत विद्यार्थी तारानाथ पराजुलीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरियो। यस्तै, कास्की जिल्लाका माध्यमिक तहमा नेपाली विषय पढाउने ज्येष्ठ शिक्षक दण्डपाणि ढकाललाई १५ हजार रुपैयाँ नगद सहित “भानु वाङ्मय शिक्षा पुरस्कार” प्रदान गरिएको थियो।
पर्यटन व्यवसायी गणेबहादुर भट्टराईले स्थापना गर्नुभएको एक लाख २५ हजार रुपैयाँको अक्षयकोषबाट स्नातकोत्तर तहमा नेपाली विषयमा उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गरिन्छ।
