
पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरूको स्थलगत अनुगमन सोमबार सम्पन्न भएको छ। परियोजना कार्यान्वयन इकाइ, कास्कीले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरेको हो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका संयोजक लीलाधर पौडेलको नेतृत्वमा रहेको टोलीले पोखरा महानगरपालिका-११ स्थित सिस्नेरी च्याउ फर्म, पोखरा-६ जरेबरको चिसापानी कृषि तथा पशुपन्छी फर्म, पोखरा-१६ दीपस्थित जय देउराली कृषि फर्म, पोखरा-२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका-६ स्थित धिताल दुग्ध उत्पादन कृषि सहकारीद्वारा सञ्चालित दुग्ध संकलन तथा प्रशोधन केन्द्र, साथै पोखरा-२५ हेम्जास्थित विभिन्न कृषि फर्महरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा प्रमुख पौडेलले सरकारले कृषिमा गरेको लगानी उत्पादनमुखी, प्रतिफलमुखी र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै कृषि तथा किसानका मुद्दालाई प्राथमिकतामा राख्न सरोकारवाला निकायहरूलाई आग्रह गरे।
उनले उत्पादित वस्तुहरूको बजारीकरण, सहज खरिद-बिक्री तथा निर्यातमुखी उत्पादन नीति तर्जुमा गर्नुपर्ने, जसबाट वास्तविक किसानलाई राहत महसुस हुने वातावरण बन्न सकोस् भन्ने धारणा राखे। साथै, युवापुस्तालाई कृषि व्यवसायमा आकर्षित गर्ने कार्यक्रमहरू आवश्यक रहेको पनि उनले उल्लेख गरे।
परियोजना कास्की कार्यालयका प्रमुख माधव लम्सालले कार्यालयले हालसम्म ९० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको जानकारी दिँदै लक्ष्य र उद्देश्य प्राप्तिमा पूर्ण प्रतिबद्धताका साथ कार्य गरिरहेको बताए। अनुगमन कार्यक्रममा कास्कीस्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, कृषक, विज्ञ समूह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


