पोखरामा शुक्ला साहित्य प्रतिष्ठानद्वारा २१२औं भानु जयन्ती मनाइयो

Share:

पोखरा । पोखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले २१२औं भानु जयन्ती साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सिनाले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको अतुलनीय योगदान रहेको उल्लेख गर्दै, भानुभक्त सम्पूर्ण नेपाली भाषी समुदायका गौरव रहेको बताए।

प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष हरिबहादुर बरुवालले रामायण पाठ प्रस्तुत गरे भने उपाध्यक्ष दीपेन्द्र बानियाँले भानुभक्त आचार्यको जीवनी र कृतिहरूको बारेमा प्रकाश पारे।

कार्यक्रममा मानार्थ सदस्य रामबहादुर बानियाँ, पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पोखरा–१७ की वडाध्यक्ष राधिका शाही योगी, तथा नेपाल रेडक्रस सोसाइटी कास्कीकी जिल्ला सभापति उर्मीला खड्काले आदिकविको भाषिक योगदान र समाजमा एकता स्थापित गर्न दिएको सन्देश कहिल्यै बिर्सन नहुने विचार व्यक्त गरे।

साहित्यिक कार्यक्रममा बाल साहित्यकार गेहेन्द्रमान उदास, मानार्थ सदस्य नेत्रबहादुर बानियाँ, सल्लाहकार सुवास अधिकारी, आमा समूहकी प्रतिनिधि करुणा भट्टराईलगायतले भानु समर्पित कविता वाचन गरेका थिए।

कार्यक्रमको संयोजन प्रतिष्ठानका सदस्य हरिबहादुर थापाले गरेका थिए भने सञ्चालन सचिव रामप्रसाद पौडेलले र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले राखे।

कार्यक्रमको प्रारम्भमा सहभागीहरूले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: