
पोखरा । श्रावण महिनाको प्रत्येक सोमबार पोखरामा विगत २४ वर्षदेखि हुँदै आएको बोलबम यात्राको तयारी तीव्र पारिएको छ। यस वर्ष श्रावणमा चारवटा सोमबार परेको हुँदा ती सबै दिनका लागि विशेष कार्यक्रम तय गरिएको केदारेश्वर महादेव मणि सेवाश्रम समिति, बैदामले जानकारी दिएको छ।
यस वर्ष श्रावण ५, १२, १९ र २६ गते सोमबार परेको छ। ती दिनमा पोखरा-१ बगरस्थित शुक्लागण्डकी गाइघाटमा १०८ धारामा स्नान गरी सेती नदीको जल संकलन गरेर भक्तजनहरू झाँकी, बाजागाजा र भजनकीर्तनसहित करिब ८ किलोमिटर पदयात्रा गर्दै केदारेश्वर मन्दिरमा पुग्ने र भगवान शिवलाई जल अर्पण गर्ने परम्परा रहेको संयोजक शंकर खरालले जानकारी दिए।
‘बोलबमको नाराले, शान्ति पाऊन् साराले’ मूल मन्त्र
“बोलबमको नाराले, शान्ति पाऊन् साराले” भन्ने मूल मन्त्रका साथ हुने यो धार्मिक पदयात्रामा हजारौं भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ। ती दिन भक्तजनका लागि विभिन्न स्थानमा सर्वतपानी, मोही, प्रसाद तथा विश्राम स्थलको व्यवस्था गरिएको छ।
संयोजक खरालका अनुसार, केदारेश्वरको १०८ शिवलिङ्गमा जल अर्पण गर्न पाउनु भक्तजनको लागि दुर्लभ अवसर हो। उनले भने, “१०८ धारा स्नान, आठ किलोमिटर पदयात्रा र १०८ शिवलिङ्गमा जल अर्पण गर्ने अवसर केदारेश्वरमा मात्र उपलब्ध छ।”
अष्ठमूर्ति शिवरूपको आराधना
शिवपुराणअनुसार भगवान शिवले सृष्टि, पालन र संहारमा अष्ठमूर्ति स्वरूप धारण गरेका छन्। बोलबमको आठवटा संयोग- आठ किलोमिटर यात्रा, आठ स्थानमा विश्राम, अष्ठमूर्ति स्वरूपको आराधना, आठ धातुको प्रयोग, आठ शिव नाम, आठ ध्वनि साधना, आठ अंग पूजन र आठवटा मन्त्र -केदारेश्वरको बोलबम यात्रालाई विशेष बनाउने कारण भएको संयोजकको भनाइ छ।
बालगुरुकुल सञ्चालन गर्दै आएको आश्रम
केदारेश्वर वैदिक गुरुकुल आश्रमका पीठाधीश डा. चित्घन चैतन्य महाराज (लेखनाथ आचार्य) ले आश्रममा अध्ययनरत ८० जना बालकको शिक्षादीक्षा, आवास तथा सम्पूर्ण व्यवस्थापनको दायित्व रहेको बताउँदै बोलबम कार्यक्रमको सफलता त्यसैको निरन्तरतासँग जोडिएको बताए।
उनका अनुसार, गाइघाटबाट जल ल्याएर केदारेश्वरमा अर्पण गर्नुको धार्मिक महत्त्व अन्य शिव मन्दिरभन्दा विशेष छ। “सिधै मन्दिरमा पानी वा दूध चढाउनुको सट्टा गाइघाटबाट जल लिएर जलार्पण गर्नु आध्यात्मिक दृष्टिले धेरै महत्वपूर्ण छ,” उनले स्पष्ट पारे।
विशेष पूजा र महाआरतीको आयोजना
बोलबमको दिनहरूमा मन्दिर परिसरमा षोडशोपचार पूजा, भजनकीर्तन, शिव साधना, तथा सन्ध्याकालीन महाआरतीको विशेष व्यवस्था गरिएको छ। सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिनेछन्।
संस्थाले भक्तजनका लागि पानी, मोही र प्रसादको समेत निःशुल्क व्यवस्था गर्ने जनाएको छ।समितिका वरिष्ठ उपाध्यक्ष मीना भट्टराई, सचिव ओमनाथ अधिकारी लगायतका पदाधिकारीहरूले बोलबमको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्वमाथि प्रकाश पारेका छन्।
पीठाधीश आचार्यका अनुसार, “बोलबम पर्व शिवसाधकका लागि शक्ति जागरणको माध्यम हो। शिवको आराधना साकार र निराकार रूपमा गरिन्छ। पहिले ‘भोलेबम’ भनिने यो परम्परा आज ‘बोलबम’को संस्कारमा रुपान्तरण भएको छ।”
उनी भन्छन्, “२४ वर्षअघि पोखरामा सुरु गरिएको बोलबम यात्रा अहिले गण्डकीकै धार्मिक पर्यटनको पहिचान बनेको छ।”
